GIF TIGER CUP

लोकदोहोरी गायक प्रजापति र पुरुषोत्तमलाई सम्मान गरिँदै

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा शुक्रबार गण्डकी प्रदेशस्तरीय लोक दोहोरी गीत प्रतियोगिता हुँदैछ । सोही प्रतियोगिताबीच दुई अग्रज गायक प्रजापति पराजुली र पुरुषोत्तम न्यौपानेलाई सम्मान गरिने भएको छ ।

दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको बैठकले पराजुली र न्यौपानेलाई सम्मान गर्ने निर्णय गरेको हो । लोकदोहोरीको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्‍याएकोमा उनीहरुलाई सम्मान गर्न लागिएको हो । दुवै जना राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष हुन् ।

विसं २०२० सालमा कास्कीको भदौरेमा जन्मिएका लोक गायक प्रजापति पराजुलीका ‘के खान्चेउ कमला सुन्तला कि आमला रु’, ‘बेदनाको पोको’लगायत गीत परिचित छन् । पराजुलीले भजन–चुड्का, तीजका गीतमा पनि स्वर दिएका छन् । पराजुलीकाअनुसार नेपालमा पहिलो लोक दोहोरी गीत प्रतियोगिताको सुरुवात २०३८ साल असोज १ गते डाँफे कला मन्दिर पोखरामा भएको थियो । जसको आयोजना नेपाल कलाकार संघ जिल्ला कार्यसमिति कास्कीले गरेको थियो ।

GIF TIGER CUP

अर्का सम्मानित व्यक्तित्व पुरुषोत्तम न्यौपाने स्याङजाको कालीगण्डकी गाउँपालिका–५ बलाम बेलटारीमा विसं २०२९ सालमा जन्मिएका हुन् । न्यौपानेका ‘सरर पानी घट्टमा’, ‘घामजस्तो चम्किलो जुन हुँदैन’, ‘रुन्छ नि मन किन रुँदैन’, ‘ऐना हेरेर’, ‘मायाले मार्‍यो’, ‘मिर्मी मुनि काली थुनेको’, ‘ढुंगेधारामा’, ‘देउरालीमा धजा’लगायत गीत चर्चित छन् । स्याङजामा जन्मिएपनि उनी पोखरामा बसेर संगीत कर्ममा सक्रिय छन् । उनी रेडियो नेपालमा कार्यक्रम अधिकृत पनि हुन् ।

दोहोरी प्रतियोगिता र सम्मान कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा हुनेछ । दर्शकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । प्रतियोगितामा १३ टिमले भाग लिएको आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.