काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजसंस्था इतिहास भइसकेकाले फर्केर आउने कुनै सम्भावना नरहेको बताएका छन् । शुक्रवार आफ्नो जन्मदिनका अवसरमा आफ्नै निवास कोटेश्वर बिरुवा रोप्दै अध्यक्ष नेपालले राजसंस्था फर्कने कुनै सम्भावना नरहेको बताए ।
देशको लागि विकास गर्ने चाहना भए चुनाव लडेर प्रधानमन्त्री बन्न उनले सुझाव दिए । भूमाफियासँग मिलेर सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको उनले आरोप लगाए । आफूले ल्याएको अध्यादेश फेल वा निष्क्रिय भए सरकारलाई नैतिक सङ्कट पर्ने उनको भनाइ छ ।
अध्यक्ष नेपालले दलसम्बन्धी कानुन ल्याएर दल फुटाउने षडयन्त्रकारीहरूको अन्त्य हुने भन्दै आफ्नो पार्टी कुनै हालतमा नफुट्ने जिकिर गरे । रौतहटबाट पहिलोपटक अभियानका रूपमा सुरुवात गरिएको वृक्षारोपण अभियानलाई ऐक्यबद्धता जनाउँदै अध्यक्ष नेपालले फलको बिरुवा रोपेका हुन् ।