पोखरा । साफ यु–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालको उपाधि सपना फेरि अधुरै रह्यो। सोमबार बंगलादेशको ढाकास्थित बीएसएसएस मोष्टाफा कमाल स्टेडियममा भएको निर्णायक लिग खेलमा घरेलु टोलीसँग ४–० को पराजय भोगेपछि नेपाल प्रतियोगिताको उपविजेतामा सीमित भयो।
खेलको सुरुवातदेखि नै दबाबमा परेको नेपाली टोलीलाई बंगलादेशकी स्ट्राइकर मोसमत सागोरिकाले एकल प्रदर्शनमै स्तब्ध बनाइन्। उनले खेलको आठौँ मिनेटमै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाइन्। दोस्रो हाफमा झन आक्रामक रूप अपनाउँदै उनले ५१औँ, ५८औँ र ७७औँ मिनेटमा गोल थपेर व्यक्तिगत चार गोल पूरा गरिन्। कुल सात गोलसहित सागोरिका प्रतियोगिताकी सर्वाधिक गोलकर्ता बन्न सफल भइन्।
नेपाल यसअघि लिग चरणको पहिलो खेलमै बंगलादेशसँग ३–२ ले पराजित भएको थियो। अन्तिम खेलमा उपाधिको सम्भावना कायमै रहेको अवस्थामा पनि बंगलादेशसँग पुनः पराजित हुँदै नेपालको उपाधि जित्ने लक्ष्य अधुरै रह्यो।
यो च्याम्पियनसिप डबल राउन्ड रोबिन फर्म्याटमा सञ्चालन भएको हो। चार टोली सहभागी प्रतियोगितामा नेपालले भुटानमाथि ६–१ र ८–० को शानदार जित दर्ता गर्यो। यस्तै, श्रीलंकामाथि दुवै खेलमा ७–० को फराकिलो जित निकाल्दै उत्कृष्ट प्रदर्शन गरेको थियो।
सोमबार नै भएको अर्को खेलमा भुटानले श्रीलंकालाई पराजित गर्दै तेस्रो स्थानमा समेटियो। श्रीलंका भने प्रतियोगिता भरि जितविहीन रह्यो।
