पोखरा । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा साविक विजेता कर्णाली यशविसले लगातार दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको दोस्रो खेलमा कर्णालीले लुम्बिनी लाभाजलाई ३–१ को सेटमा पराजित ग¥यो ।
पहिलो सेट २३–२५ ले गुमाएको कर्णालीले पछिल्ला तीन सेटमा पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो । कर्णालीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२२ ले जित निकाल्यो ।
तेस्रो सेटमा कप्तान अरुणा शाही घाइते हुँदै मैदान बाहिरिएपछि लुम्बिनीले लय गुमाएको थियो । कर्णालीले पहिलो खेलमा पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
यसअघि शनिबार भएको पहिलो खेलमा ललितपर क्विन्सले काठमाडौं स्पाईकर्सलाई ३–० सोझो सेटमा पराजित गरेको थियो । आजको तेस्रो तथा अन्तिम खेल पोखरा निन्जाज र मधेश युनाइटेडबिच हुनेछ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।
