सुचना१
हेमाजा हिले महोत्सव

गण्डकी सरकारकाे सुरक्षा मूल्याङ्कन बैठक, प्रतिकार्यमा जुट्न मुख्यमन्त्रीकाे निर्देशन

बैठकले हतियार फिर्ता, सम्पत्ति क्षति र चाडपर्व सुरक्षा योजना प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।

पोखरा । माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको प्रदेश सुरक्षा समन्वय समितिको आजको बैठकले भाद्र २३ र २४ गते देशभर भएका आन्दोलनका प्रभावबारे विस्तृत समीक्षा गरेको छ। बैठकमा सबै सुरक्षा निकायका व्रिफिङ प्रस्तुत गरिँदै आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

बैठकले आन्दोलनका क्रममा लुटिएका हतियार अझै फिर्ता नभएको भन्दै यसबारे सर्वप्रथम सञ्चार माध्यममार्फत आमजनतालाई फिर्ता गर्न आह्वान गर्ने निर्णय गरेको छ। तोकिएको समयमा हतियार नफिर्ता गर्ने व्यक्तिलाई भने विषयगत अपराध मानिने र कानूनअनुसार आवश्यक कारबाही अघि बढाइने चेतावनी दिइएको छ।

असामान्य अवस्था क्रमशः सामान्यतर्फ उन्मुख भइरहेको ठहर गर्दै बैठकले आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी, तोडफोड, लुटपाट र चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनअनुसार प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ। शान्ति र अमनचयन कायम गर्न सबै सुरक्षा निकायलाई सजग र समन्वित ढंगले काम गर्नुपर्नेमा बैठकले जोड दिएको छ।

बदलिँदो परिस्थिति र सम्भावित चुनौतीलाई ध्यानमा राखी नागरिक समाजको सहयोगसमेत लिएर सुरक्षामा आपसी सहकार्य र सूचना आदानप्रदानलाई प्राथमिकतामा राख्ने निष्कर्ष बैठकले निकालेको छ। यससँगै वर्षायाम कायमै रहेको कारण सम्भावित विपद् जोखिमलाई दृष्टिगत गर्दै सबै जिल्ला विपद् व्यवस्थापन समिति र सुरक्षा निकायलाई सचेत रहन र पूर्वतयारीसहित प्रतिकार्यमा जुट्न निर्देशन दिइएको छ।

बैठकले चाडपर्व नजिकिँदै गरेको सन्दर्भलाई समेत मध्यनजर राखी चाडपर्व लक्षित सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ। यसरी, आन्दोलनपछि उत्पन्न अवस्थाको मूल्याङ्कनसहित प्रदेशमा शान्ति, सुरक्षा र अमनचयनलाई सामान्य बनाउने उद्देश्यका साथ प्रदेश सुरक्षा समन्वय समितिले ठोस कार्ययोजना अघि सारेको छ।

 

वडा नं २६
Sadak 1
पुल सेन्टर