पोखरा । फेदीखोला गाउँपालिका बाँगेमा भएको सुन चोरीको घटनामा संलग्न रहेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। असोज १८ गते साँझ करिब ६ बजे स्थानीय उषा शर्माको घरमा चोरी भएको सूचना पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
शर्माको घरबाट साढे तीन तोलाको लकेटसहितको सुनको सिक्री र करिब दुई तोलाको बेरुवा औँठी चोरी भएको प्रारम्भिक विवरणमा उल्लेख छ। घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले प्रहरीको टोली परिचालन गरी अनुसन्धान थालेको थियो।
त्यस क्रममा असोज २१ गते पुतलीबजार नगरपालिका–१, सहिदचोक नजिकैबाट एक महिलालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेकी महिला फेदीखोला गाउँपालिका–३ की २८ वर्षीया प्रतिमा सुवेदी हुन् जो हाल पोखरा महानगरपालिका–१७ विरौटामा बस्दै आएकी थिइन्।
अनुसन्धानका क्रममा सुवेदीले चोरीका गरगहना पोखराकै एक स्थानमा लुकाइराखेको स्वीकार गरेकी प्रहरीले जनाएको छ। त्यसपछि प्रहरी टोलीले ती गरगहना सोही स्थानबाट बरामद गरेको हो। बरामद सामग्रीमा करिब ३.५ तोलाको सुनको सिक्री र २ तोलाको बेरुवा औँठी रहेको विवरणमा उल्लेख छ।
स्याङ्जा प्रहरीले प्रतिवादीमाथि थप अनुसन्धानका लागि अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
