सुचना१
newa srijana

कास्कीमा जेनजी आन्दोलनको हिंसामा संलग्न १० पक्राउ, हतियार लुटपाट र आगजनीको आरोप

पोखरा । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कास्कीका विभिन्न प्रहरी कार्यालयमा भएको आगजनी, तोडफोड र हतियार लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो। पक्राउ परेकाहरूमाथि अपराधिक उपद्रवसम्बन्धी मुद्दा चलाइएको छ र जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

आन्दोलन भ्रष्टाचार, नेपोटिज्मविरुद्ध र सुशासनको माग गर्दै सुरु भएको थियो। भदौ २३ गतेको प्रदर्शनमा १९ जना आन्दोलनकारीको मृत्यु भएपछि भोलिपल्ट देशभर सरकारी तथा निजी भवनमा आगजनी र तोडफोड भएको थियो। कास्कीमा जिल्ला प्रहरी कार्यालय र मातहतका वडा प्रहरी कार्यालय वैदाम, बगर, रामबजार, ट्राफिक प्रहरी कार्यालय, अन्नपूर्ण गाउँपालिकाको नयाँपुल प्रहरी चौकी तथा नदीपुर, प्रस्याङ, हरीचोक, लामाचौर, छोरेपाटनलगायतका प्रहरी बिटहरूमा व्यापक क्षति पुगेको थियो। आन्दोलनकारीले जिल्ला प्रहरी कार्यालय कब्जा गरेर तत्कालीन प्रहरी उपरीक्षकको बर्दी लगाएर टिकटक भिडियो बनाएको दृश्य भाइरल भएको थियो।

जिल्ला प्रहरी कार्यालयमा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भई पोखरा–४ मानव अधिकार चोक बस्ने २४ वर्षीय राजेश मक्रान्ती, पोखरा–४ अधिकारी मार्गका ५४ वर्षीय नारायण साई (फ्रेस हाउस सञ्चालक), पोखरा–११ फुलवारीका २२ वर्षीय अरुण विक (गाडी चालक) र पोखरा–१ मोहरिया टोलका ४३ वर्षीय दीपु साई (हार्डवेयर पसल कामदार) लाई पक्राउ गरिएको छ दीपुमाथि हतियार जलाएकोसमेत आरोप छ।

वडा प्रहरी कार्यालय बगरमा तोडफोड र आगजनी गरेको अभियोगमा पोखरा–१ कसेरीका ४१ वर्षीय रुपेश मगरलाई नियन्त्रणमा लिइएको छ। मगर पटके अपराधी हुन्; २०६२ सालमा सवारी साधन तोडफोड गरेको मुद्दा पनि उनमाथि छ।

अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल प्रहरी चौकीमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न भएको ठहर गर्दै स्थानीय ४७ वर्षीय लङबहादुर नेपाली (व्यवसायी), १९ वर्षीय अरविन विक (विद्यार्थी), २२ वर्षीय ग्रिस क्षेत्री (विद्यार्थी, वडा नं. ६ हाईजुङ बस्ने), ६२ वर्षीय थमबहादुर सार्की (व्यवसायी) र ४२ वर्षीय पूर्णबहादुर नेपाली (किसान) लाई पक्राउ गरिएको छ। पूर्णबहादुरमाथि हतियार लुटपाटको पनि आरोप छ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की र प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले पक्राउ अभियान जारी रहेको बताएका छन्। यसअघि प्रहरी बर्दी दुरुपयोग र हुलहुज्जतमा संलग्न ८ जनालाई पक्राउ गरी अभद्र व्यवहार मुद्दा चलाइएको थियो तर अदालतले धरौटीमा छाड्न आदेश दिएपछि उनीहरू रिहा भएका छन्। प्रहरीले थप संलग्नताको खोजी तीव्र पारेको जनाएको छ।

अन्नपूर्ण गाउँपालिका कास्की
Sadak 1
रूपा गाउँपालिका कास्की