पोखरा । यस वर्षको शेर विष्णु पत्रकारिता पुरस्कार स्मीता अधिकारी तिवारीलाई प्रदाान गरिने भएको छ ।
लेखनाथ पत्रकार मञ्च कास्कीले सञ्चालन गर्नेगरी गत वष पोखरा ३० का शेरबहादुर विष्णुमाया गुरुङबाट स्थापित शेर विष्णु पत्रकारिता पुरस्कार यसपटक अन्नपूर्ण पोष्टको अंग्रेजी संस्करण दि अन्नपूर्ण एक्सप्रेसकी पोखरा संवाददाता स्मीता अधिकारी तिवारीलाई पुरस्कृत गरिने भएको छ ।

हाल पोखरा ३१ मोहोरिया निवासी तिवारीले वि सं २०६३ मा हिमचुली एफ एमबाट पत्रकारिता सुरु गरेकी थिइन् । त्यस यता उनी पोखराका विभिन्न मिडियामा रहेर कार्य गरिसकेकी छन् । पुरस्कारको राशी पाँच हजार पाँच सय पचपन्न रहेको छ। पुरस्कार पुस १५ गते कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको मूल समारोह अर्घौ अर्चलेमा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
अक्षयकोषदाता हाल विदेशमा रहेका हुनाले उनको अनुपस्थितिमा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, सचिव रामशरण नेपाली, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोला, पूर्व पुरस्कृत व्यक्तिहरु मध्येबाट बासुदेव पौडेल र स्थापनाकालीन अध्यक्ष भीमपाणि बराल रहेको छनौट समितिले यस वर्ष उनलाई पुरस्कारका लागि छनौट गरेको हो ।सो पुरस्कारबाट गत वर्ष पत्रकार दीपक परियार सम्मानित भएका थिए ।





