newa srijana

पोखरामा ‘खेल मेला २०८२’ निर्णायक चरण प्रवेश

पोखरा । पुस ११ गतेदेखि पोखरामा सुरु भएको ‘खेल मेला २०८२’ निर्णायक चरणमा प्रवेश गरेको छ। सुरुवाती दिनदेखि नै विद्यार्थी र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थितिले मेलालाई उत्साहपूर्ण बनाएको छ। विभिन्न विधाका खेलहरू उत्साहका साथ सञ्चालन भइरहेका छन्।

पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (WRC) का सिभिल इन्जिनियरिङ विद्यार्थीहरूको नेतृत्वमा आयोजना भएको यस खेल मेलाले युवाको नेतृत्व, व्यवस्थापन क्षमता र खेलप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ। कडा शैक्षिक तालिकाबिच यति ठूलो प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्नु सराहनीय उदाहरण मानिएको छ।

मेलामा फुटबल, महिला ब्याडमिन्टन र चेस विधा समावेश छन्। हालसम्म फुटबलतर्फ धेरै प्रतिस्पर्धात्मक खेल सम्पन्न भइसकेका छन्। चेस र महिला ब्याडमिन्टन प्रतियोगिता पनि फाइनल खेलसहित सम्पन्न भइसकेको आयोजकले जनाएका छन्।

World link net

आयोजकले विजेतालाई विधाअनुसार पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाएका छन्। फुटबल विधाका विजेतालाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ। चेस र महिला ब्याडमिन्टन विधाका विजेतालाई पनि मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ।

खेलकुदलाई प्राविधिक कार्यक्रम ‘भेक्टर’ को अभिन्न अंगका रूपमा समेट्दै आयोजकहरूले स्वस्थ शरीर बिना स्वस्थ मस्तिष्क सम्भव छैन भन्ने सन्देश प्रवाह गरेका छन्।

मर्फी एजुकेसनको मुख्य प्रायोजन र विभिन्न स्थानीय संस्थाहरूको सहयोगमा सञ्चालन भएको खेल मेलाले पोखरामा खेलकुद प्रवर्द्धनसँगै खेल पर्यटनमा सकारात्मक योगदान पुर्‍याएको आयोजकहरूले बताएका छन्।

सिटीजन फनिच्रर