newa srijana

राष्ट्रिय विद्यार्थी गुणीय चक्र सम्मेलनमा मनशा स्मृति पुरस्कारः सम्पूर्ण गुणस्तरीय व्यक्तित्व निर्माणको निरन्तर यात्रा

पोखरा । पोखराको सेन्ट मेरीज स्कुलमा आयोजित १९ औं राष्ट्रिय विद्यार्थी गुणीय चक्रको सम्मेलन जारी रहेको छ । कार्यक्रमको दोश्रो दिन मनशा स्मृति सर्व गुणीय व्यक्ति पुरस्कार छनौटका लागि पहिलो चरणबाट छनौट भएका विद्यार्थीहरु बीच स्टेज राउण्डमा प्रश्नउत्तर सम्पन्न भएको छ । प्रश्नउत्तर कार्यक्रममा देशभरबाट छनौट भएका ९ जना प्रतिभावान विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

कपिलवस्तुको बालज्योति इङ्ग्लिश बोर्डिङ स्कुलका आलोक तिवारी, काठमाडौंको ब्राइट फ्युचर सेकेन्डरी स्कुलकी गृष्मा भट्ट, मोरङको कुडोस विद्यासदनकी खुशी भट्टराई, पोखराको ज्ञान बगैंचा ईङ्गलिस बोर्डिङ स्कुलका प्रसून पन्त, झापा मोडल ईङ्गलिस सेकेन्डरी स्कुलका प्रणव मण्डल र प्रिदिशा बराल, काभ्रेको काठमाडौं युनिभर्सिटी हाई स्कुलका सम्यक पोखरेल, काठमाडौंको बेबिलोन नेशनल स्कुलकी सारा काफ्ले र जगत मन्दिर सेकेन्डरी स्कुलका सुमिन कोइराला पनि छनौटमा परेका छन् ।

क्वेष्ट नेपालका प्रमुख संरक्षक प्रोफेसर दिनेश प्रसाद चापागाईंकी कान्छी छोरी स्वर्गीय मनशा शर्माको सम्झनामा स्थापित यो पुरस्कार यस वर्ष नवौं पटक प्रदान भइरहेको छ । जुलाई १३, २०१५ मा मात्र ३० वर्षको उमेरमा निधन भएकी मनशाको स्मृतिमा २०१५ मा स्थापना भएको यस पुरस्कारले अहिलेसम्म २१ जना छात्रा र १९ जना छात्रहरूलाई सम्मानित गरिसकिएको छ ।

विद्यार्थी गुणीय चक्र कार्यक्रममा विभिन्न विद्यालयहरूबाट छनौट भएका विद्यार्थीहरूको वेब–आधारित साइकोमेट्रिक परीक्षणमार्फत टोटल क्वालिटी पर्सन इन्डेक्स मापन गरिएको थियो । काठमाडौं, पोखरा, कपिलवस्तु, झापा, मोरङ र काभ्रेका विभिन्न विद्यालयका विद्यार्थीहरू अन्तिम चरणमा पुगेका छन् ।

World link net

पाँच सदस्यीय निर्णायक समितिमा क्वेष्ट नेपालका सल्लाहकार /थिङ्क ट्याङ्क निराजन अधिकारी र प्रमुख सल्लाहकार सुरिना सुनयनी गुरुङ, बेटर चितवन संस्थाका संस्थापक सागर क्षेत्री, सफ्टवेरिका कलेजका कोर्स डाइरेक्टर सिद्धार्थ न्यौपाने र सेन्ट मेरीज सेकेन्डरी स्कूल पोखराकी इत्तुलोजिजु रहेका थिए ।

पुरस्कार विजेताहरूले मान्यताको प्रमाणपत्र, ट्रफी र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यस पुरस्कारको मूल उद्देश्य विद्यार्थीहरूमा राम्रो चरित्र र स्मार्ट चरित्र दुवैको विकास गर्दै सम्पूर्ण गुणस्तरीय व्यक्तित्व निर्माणमा प्रोत्साहन गर्नु रहेको थियोे ।

सम्मेलनमा जलवायु परिवर्तन, फोहोर व्यवस्थापन, एआइ र कोडिङ जस्ता समसामयिक विषयमा पनि विशेष कार्यशालाहरू सञ्चालन भइरहेका छन् । जस अन्तर्गत कार्याशालामा सहभागी विद्यार्थीहरुलाई कार्बन फुट प्रिन्ट ,फोहोर व्यवस्थापन र विद्यार्थीको रूपमा हाम्रो दायित्व ,जलवायु परिवर्तन/ग्लोबल वार्मिङको बारेमा ई. सागर कार्कीले सहजीकरण गरेका थिए ।

त्यस्तै ए आई र कोडिङ, जिम्मेवार एआई निर्माण, एआईका कारण र नैतिकता, राम्रो भविष्यको लागि कोडिङ, भविष्यका नेताहरूको लागि एआईको बारेमा ई. सिद्धार्थ न्यौपानेले सहजीकरण गरेका थिए । हिंजो देखि तीन दिन सम्म हुने सम्मेलनमा विविध शैक्षिक तथा सिर्जनात्मक गतिविधिसहित सञ्चालन भइरहेको छ ।

सम्मेलनको पहिलो दिन झैं समानान्तर सत्र,प्यानल छलफल, विद्यार्थी गुणीय चक्र केस स्टडी प्रस्तुति, प्रतिस्पर्धात्मक कार्यक्रम, कार्यशाला तथा अवलोकन भ्रमण (साइट सिइङ) कार्यक्रमहरू सञ्चालन भैरहेका छन् ।

सिटीजन फनिच्रर