सुचना१
newa srijana

२६औं आदर्श कप फुटबल प्रतियोगिता माघ ९ देखि हुने

पोखरा । आदर्श युवा क्लबको आयोजनामा हुने २६औं आदर्श कप फुटबल प्रतियोगिता यही माघ ९ गतेदेखि सञ्चालन हुने भएको छ । पोखरा–२९ भण्डारढिकस्थित आदर्श खेल मैदान हुने प्रतियोगिता माघ १६ गतेसम्म चल्नेछ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष पदम गुरुङले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । ‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्ला र दुई विभागीय टोलीसहित ८ टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा आयोजक आदर्श युवा क्लब, कास्की जिल्ला फुटबल संघ, तनहुँ जिल्ला फुटबल संघ, नेपाल प्रहरी (गण्डकी प्रदेश), सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी, म्याग्दी जिल्ला खेलकुद विकास समिति, गन्नी फुटबल क्लब (पर्वत) र होराइजन क्लब (स्याङ्जा) प्रतिस्पर्धा गर्नेछन् ।

विजेता टोलीले ४ लाख ९९ हजार ९ सय ९९ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

Pokhara महोत्सव

व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकले जनही १५ हजार रुपैयाँ र ट्रफी पाउनेछन् । प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीले ५ हजार रुपैयाँ र ट्रफी हात पार्नेछन् ।

अध्यक्ष गुरुङले प्रतियोगितालाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य रहेको बताए । लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको आदर्श कपले स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका खेलाडीलाई अवसर प्रदान गर्दै आएको छ उनले भने ।

करिब ६१ लाख रुपैयाँको लागत अनुमान गरिएको प्रतियोगिताको मुख्य प्रायोजन फर्स्ट च्वाइस फुड्स लिमिटेड रुपन्देहीले गरेको छ । राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ र जिल्ला खेलकुद विकास समिति कास्कीले विशेष सहयोग गर्ने जनाइएको छ।

प्रवेश शुल्क क्वाटरफाइनल र सेमिफाइनलसम्म १०० रुपैयाँ र फाइनल खेलका लागि २०० रुपैयाँ कायम गरिएको छ । ज्येष्ठ नागरिक, सुरक्षाकर्मी, पत्रकार र सरकारी कर्मचारीलाई परिचयपत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था छ ।

कार्यक्रममा वडा अध्यक्ष श्रीप्रसाद गुरुङ, खेल संयोजक ओम प्रकाश गुरुङ, संस्थापक अध्यक्ष चेत बहादुर गुरुङलगायतको सहभागिता थियो ।

पुल सेन्टर
वडा नं २६