newa srijana

छैटौं टाइगर कप भलिबल सुरु, खेलकुदले राष्ट्रको गौरव स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले खेलकुदले राष्ट्रको गौरव, शान, मान र पहिचान स्थापित गरेको बताउनुभएको छ ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा शुक्रबारदेखि सुरु भएको एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार रहेको उल्लेख गर्नुभयो ।

प्रदेश प्रमुख भट्टले खेलको विकासबाट राष्ट्रको सर्वाङ्गीण विकासको ढोका खोल्न सकिने बताउनुभयो । ‘नेपाल खेलकुदको माध्यमबाट समेत चिनिँदै आएको छ । सशक्त र पूर्वाधार सम्पन्न मुलुकहरुलाई खेलकै माध्यमबाट पराजित गर्न सकेका छौं’, उहाँले भन्नुभयो ।

Mountain run pokhara click

आजको परिप्रेक्ष्यमा खेल शारीरिक तथा मानसिक स्वास्थ्यको आधार मात्र नभएर कूटनीति, अर्थतन्त्र एवं सहकार्य र एकताको स्तम्भसमेत बनेको उहाँले बताउनुभयो । खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्न सरकार प्रयत्नशील रहेको उहाँको भनाइ छ ।

सिटीजन फनिच्रर

भलिबल सानो स्थान, थोरै बजेट, सबै नेपालीको पहुँच र धेरैलाई मनपर्ने खेल भएकाले राष्ट्रिय खेल बन्न पुगेको प्रदेश प्रमुखले बताउनुभयो । मुलुकको भौगोलिक अवस्थाका कारण पनि भलिबल उपयुक्त खेल भएको उहाँको भनाइ छ । सीमित पूर्वाधार र सुविधाका बाबजुद अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला भलिबल टोलीले प्राप्त गरेको नतिजा प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।

‘एशियन सेन्ट्रल जोन भलिबलको उपाधि लगातार जितेर नेपाली महिला भलिबल खेलाडीले नेपालको नाम चम्काएको म स्मरण गर्न चाहन्छु’, प्रदेश प्रमुख भट्टले भन्नुभयो ।

भलिबलको भौतिक संरचना तथा पूर्वाधार कमजोर भएपनि यस्ता प्रतियोगिताका कारण खेलाडीहरुलाई फाइदा पुगेको उहाँले बताउनुभयो । जिल्ला तथा केन्द्रीय स्तरका प्रतियोगिताले खेलाडीलाई खेल कौशल प्रदर्शन र आर्थिक उपार्जनमा योगदान पुर्‍याएको उहाँको भनाइ छ ।

टाइगर ग्रुप अफ पोखराले विगत ६ वर्षदेखि भव्य र व्यवस्थित ढंगले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गरी भलिबल खेलमार्फत पोखरा र गण्डकी प्रदेश मात्र नभई नेपाललाई नै चिनाउन महत्वपूर्ण भूमिका खेलेकोमा प्रदेश प्रमुखले धन्यवाद व्यक्त गर्नुभयो ।

Rabin photo