पोखरा । पोखराको सहारा क्लबले आयोजना गर्न लागेको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को खेल तालिका सार्वजनिक भएको छ । माघ २७ गतेदेखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लबले हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लबसँग भिड्ने भएको छ ।
माघ २८ गते जाउलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबबीच खेल हुनेछ । त्यस्तै माघ २९ गते एपिएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुने तय भएको छ । समूह ए मा पुलिस, सहारा क्लब, गोर्खा इन्टरनेशनल, एपिएफ, मनाङ मर्स्याङ्दी र थन्डरबोल्ट नर्थ युनाइटेड रहेका छन् । समूह बी मा चर्च वाइज, जाउलाखेल, मच्छिन्द्र, फ्रेण्डस, प्लानिङ ब्वाइज, एभा एफसी र उज्बेकिस्तानको टोली सहभागी छन् ।


प्रतियोगिताको सेमिफाइनल फागुन ६ र ७ गते हुने भएको छ भने फाइनल फागुन ९ गते पोखरा रंगशालामा आयोजना हुनेछ ।
सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले यो प्रतियोगिताले पोखरालाई खेलकुद पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले खेल मैदान, सुरक्षा, आवास लगायत सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । २५ औँ संस्करणका रूपमा आयोजना हुन लागेको प्रतियोगितामा स्वदेशी र विदेशी चर्चित क्लबको सहभागिताले दर्शकमा उत्साह थप्ने आयोजकको अपेक्षा छ।





