पोखरा । गण्डकी प्रदेश प्रेस रजिष्टार कार्यालयको आयोजना तथा सेन्टर फर मिडिया रिसर्च नेपाल (सीएमआर) को प्राविधिक सहयोगमा पोखरामा दुई महिने ‘डेटा ड्रिभन जर्नलिज्म’ तालिम बुधबारदेखि सुरु भएको छ। पहिलो चरण फागुन १३ गतेसम्म सञ्चालन हुनेछ।
तालिममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट १८ जना पत्रकार सहभागी छन्। कास्की, स्याङ्जा, बाग्लुङ, मुस्ताङ, मनाङ र तनहुँलगायत जिल्लाका पत्रकारहरू सहभागी भएका हुन्। नेपाल पत्रकार महासंघ गण्डकीका ११ वटै जिल्ला शाखाबाट सिफारिस भएर आएका ११ जना, प्रदेश शाखाबाट प्रतिनिधित्व गर्ने २ जना तथा प्रेस रजिष्टार कार्यालयले छनोट गरेका ५ जना ब्युरो प्रमुख तथा क्रियाशील सञ्चारकर्मी गरी उनीहरू तालिममा सहभागी भएका हुन्।

कार्यक्रमको उद्घाटन गर्दै नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले पत्रकारितामा तथ्यांकको महत्त्व अत्यधिक रहेको बताए। “तथ्यलाई आफ्नै ढङ्गले विश्लेषण गरिएको जस्तो लाग्न सक्छ, तर त्यसको पनि निश्चित मापदण्ड हुन्छ, जुन व्यावसायिक पत्रकारितामा झल्किनुपर्छ,” उनले भने। उनका अनुसार कहिलेकाहीँ कम तथ्यले पनि ठूलो सूचना दिन सक्छ भने धेरै तथ्यको सही विश्लेषणबाट स्पष्ट निष्कर्ष निकाल्न सकिन्छ।
तालिम तीन चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा पोखरामा छ दिनको कक्षागत तालिम, दोस्रो चरणमा अनलाइनमार्फत छ हप्ते अभ्यास र तेस्रो चरणमा वैशाख २७ देखि जेठ १ गतेसम्म पुनः पोखरामै उन्नत तालिम सञ्चालन हुने प्रशिक्षक उमेश श्रेष्ठले जानकारी दिए। “सुरुको छ दिन आधारभूत सीप सिकाइनेछ, त्यसलाई छ हप्तामा अभ्यासमार्फत प्रयोग गरिनेछ र अन्तिम चरणमा थप उन्नत विषयमा प्रशिक्षण दिइनेछ,” उनले भने।


गण्डकी प्रदेशकी प्रेस रजिष्टार बिमला भण्डारीले उक्त तालिम अन्य तालिमभन्दा बढी उपयोगी र महत्त्वपूर्ण रहेको बताइन्। “हामी गण्डकी प्रदेशको पत्रकारितामा नयाँ र युगान्तकारी अध्यायको सुरुवात गर्दैछौँ,” उनले भनिन्। तालिमपछि सिकेको ज्ञान प्रयोगमा नल्याए बिर्सिने भएकाले छ हप्ते अनलाइन अभ्यास चरणमा निरन्तर सहकार्य गरिने उनले उल्लेख गरिन्।
उनका अनुसार यो पहिलोपटक सरकारी बजेटमार्फत, अर्थात् करदाताको रकमबाट, गण्डकी प्रदेशमा डेटा जर्नलिज्मसम्बन्धी तालिम सञ्चालन गरिएको हो।

प्रेस रजिष्टार कार्यालयले आगामी दिनमा पनि स्वच्छ पत्रकारिता प्रवर्द्धन र दक्ष जनशक्ति उत्पादनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
सो अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय सुधार तथा सञ्चार समन्वय महाशाखा सचिव कृष्णप्रसाद लम्साल, प्रेस काउन्सिल सदस्य केशवशरण लामिछाने, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल र पूर्व प्रशिक्षित पत्रकार दुर्गा रानामगरलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा सञ्चार समन्वय समिति गण्डकी प्रदेश सदस्य दीपेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधवप्रसाद बराल, न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्य बासुदेव मिश्रलगायतको उपस्थिति रहेको थियो।




