पोखरा । पोखरा महानगरपालिकाले प्रदान गर्ने सेवा तथा विकासका गतिविधिलाई प्रभावकारी बनाउन महानगरबासीले महत्वपूर्ण सुझाव दिएका छन् । आइतबार पोखरा सभागृह हलमा पोखरा महानगरपालिकाले आयोजना गरेको चालु आर्थिक वर्ष २०८२÷०८३ को चैत्र महिनासम्मको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भएका नागरिक र सर्वेक्षणमा सहभागी बनेका सेवाग्राहीले महानगरको काम कारवाहीलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन आग्रह गरेका छन् ।
सिटीवान टेलिभिजनको सहजीकरणमा भएको सार्वजनिक सुनवाई कार्यक्रममा सबै भन्दा बढी जिज्ञासा तथा सुझाब महानगरले केही दिन अगाडि पोखराको फेवातालको ६५ मिटर मापदण्ड भित्र भएका संरचना हटाउने कार्यसँग सम्बन्धित रहेको थियो । कतिले यो कदमको तारिफ गरेका छन् । कतिले आलोचना । उचित मुआब्जा विना संरचना भत्काउने नपाइने, अहिले कार्यान्वयन गर्न लागिएको तालको मापदण्ड अव्यवहारिक रहेको सहभागीको दावी थियो ।
उनीहरूका जिज्ञासालाई मेटाउँदै मेयर धनराज आचार्यले नागरिकलाई मर्का पर्न नदिन महानगर सचेत रहेको उल्लेख गरे । फेवाताल मापदण्ड भित्रको संरचना हटाउने काम हतारमा सुरु गरिएको होइन । यसको आवश्यक प्रक्रियाहरू पुरा गरेरै संरचना हटाउन सुरु गरेका हौँ । महानगरले यसअघि सार्वजनिक सूचना समेत जारी गरेको थियो । उनले भनेका छन् ।
महानगरले अबको केही दिनमा नै दूषित जग्गा र ६५ मिटर मापदण्डभित्र पर्ने जग्गा छुट्याएर उचित मुआब्जा र क्षतिपूर्ति दिने काम गर्ने उनले खुलाए । मापदण्डभित्र ५ सय ६६ संरचना रहेको र त्यसमा सरकारी जग्गा पनि पर्ने भन्दै मापदण्डमा पर्ने सबै कार्यालयहरू हटाउने बताए । फेवाताल क्षेत्रमै माछा मारेर पुस्तौँदेखि आफ्नो जीवन गुजारा गर्दै आईरहेका जलारी समुदायका लागि फेवातालकै वरिपरि उनीहरूको रोजीरोटी नखोसिने तवरले महानगरले त्यसको प्रबन्ध मिलाउने उनको भनाइ छ । प्राविधिकहरूको प्रतिवेदन र अदालतको फैसलाबमोजिम नै तालघर भित्रका संरचना हटाउन सुरु गरेका र पोल पनि सोही अनुसार गाडेका उनको दावी छ । फेवातालको विषयमा छुट्टै कार्यक्रम गरेर यथार्थ जानकारी दिने प्रतिवद्धता समेत आचार्यले गरेका छन् ।
यस्तै महानगरको कामकारबाहीलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउन ध्यान दिनुपर्ने सहभागीले आग्रह गरेका छन् । उनीहरूले विकास आयोजनाहरूलाई अल्पकालीन र दीर्घकालीन रूपमा विभाजन गरी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उत्पादनमूलक योजना ल्याउन, पर्यटन पूर्वाधार निर्माणमा जोड दिन र खेलकुदलाई व्यवसायिकरण गर्ने पहल गर्नुपर्ने सुझाव समेत दिएका छन् ।
त्यस्तै, टोल विकास संस्थासँग सहकार्य बढाएर विकास कार्य अघि बढाउनुपर्ने र फोहोरमैला व्यवस्थापनमा देखिएका समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग गरिएको छ । कतिपय क्षेत्रमा खानेपानीको अभाव देखिएकाले सम्बन्धित निकायसँग समन्वय गरी सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने महानगरबासीको भनाइ छ ।

उनीहरूले नाला सरसफाइमा लापरवाही हुँदा क्षति हुने सम्भावना रहेको भन्दै नियमित सफाइमा ध्यान दिन आग्रह गरेका छन् । महिलाहरूका लागि सीपमूलक तालिम आवश्यक रहेको र सामान्य सेवाका काममा अनावश्यक झन्झट कम गर्नुपर्ने सुझाव पनि दिएका छन् ।
त्यसैगरी, निर्वाचनको समयमा गरेका चुनावी प्रतिबद्धता पूरा गर्न, निजी विद्यालय तथा संस्थाहरूको नियमन गर्न र कर्मचारीको व्यवहार सेवामुखी बनाउनुपर्ने माग गरिएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिन तथा प्रविधिमैत्री सेवा विस्तार गर्नुपर्ने आवश्यकता समेत औंल्याइएको छ ।
ट्राफिक व्यवस्थापनमा पनि महानगरले थप ध्यान दिनुपर्ने भन्दै पृथ्वीचोक र सिर्जनाचोकका ट्राफिक लाइट सञ्चालनमा ल्याउनुपर्ने सुझाव दिएका छन् । सार्वजनिक जग्गा संरक्षणमा कमजोरी देखिएको भन्दै यसतर्फ कडाइ गर्नुपर्ने र अवैध भौतिक संरचना निर्माणलाई नियन्त्रण गर्नुपर्ने नागरिकको जोड छ ।
महानगरवासीले वेगनास लगायतका तालको मापदण्डको कारण परेका समस्या, बाँदरका कारण भोग्नु परेको समस्या, कृषि विमाको प्रभावकारिता, स्वास्थ्य र शिक्षा सर्वसुलभ हुनुपर्ने, कृषकले उत्पादन गरेका वस्तुको बजारीकरण सहित सुशासनका विषयमा ध्यान दिन आग्रह गरेका छ्न । जनप्रतिनिधि उत्तरदायी बन्नुपर्ने, कर्मचारीले सेवा प्रदान गर्दा सहजता महशुस गराउन सक्नुपर्नेमा समेत उनीहरूको जोड छ । नागरिकका यी सुझावले महानगरको सेवा सुधार र दिगो विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भएर जिज्ञासा तथा सुझाब दिनेमा शिव प्रसाद भण्डारी, गीता लामिछाने, प्रकाश थापा, राम बहादुर पौडेल, राजेश थापा, राजेन्द्र अधिकारी, रवीचन्द्र पौडेल,रोक प्रसाद अधिकारी, राधिका तिमिल्सीना, मिलन अधिकारी, एन्जिला गोदार, खगेन्द्र राज पराजुली, अन्जली खत्री,नारायण पराजुली, दिपक पौडेल, ईन्जिनियर प्रकाश गौतम, कल्पना गौतम, सीता थापा, राम गिरी, सन्तोष लामिछाने, पञ्चमान गुरुङ, बिजय नेपाली, टंक बहादुर थापा, सिर्जना केसी लगायत रहेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नको प्रमुख धनराज आर्चाय, उप–प्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल सहित सम्बन्धीत महाशाखाका प्रमुखहरुले समेत जवाफ दिएका थिए । । उप–प्रमुख गुरुङले आफ्नो जिम्मेवारीमा रहेका कामको कार्य सम्पादनको अवस्था लगायतको विषयमा प्रकाश पारेकी थिइन् । प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम अर्यालले आर्थिक वर्ष २०८२÷०८३ को हालसम्मको अवधिमा महानगरले गरेको कार्यप्रगति लगायतको विवरण प्रस्तुत गरेका थिए । सिटीवान टेलिभिजनको प्रबन्ध निर्देशक समेत रहेकी सञ्चारकर्मी अनिशा श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा सञ्चारकर्मी राजाराम पौडेलले नागरिक प्रतिवेदन, वर्हिगमन अभिमत र टेलिफोन सर्भेको विवरण प्रस्तुत गरेका थिए ।




