पोखरा।फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा यहि १८ जेठ गते पोखराको फेवातालमा तेश्रो संस्करणको पुरुष तथा महिलातर्फ खुला डुंगा दौड प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फेवातालबारे प्रचारप्रसार गर्ने, फेवातालमा हुन सक्ने भवितव्य घटनाबारे सचेतनामूलक जानकारी दिने, फेवातालको महत्व बुझाउन तथा पोखरामा आन्तरिक पर्यटक भित्र्याउँदै यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो ।
अध्यक्ष गिरीका अनुसार पुरुषतर्फ बाराहीघाटदेखि पारि लेक हाउससम्म झण्डै ३ किमी दूरीमा तथा महिलातर्फ बाराहीघाटदेखि पारि लिची गार्डेनसम्म २ किमी तथा प्रतिस्पर्धा गराइने छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रवद्र्धनमा हुने डुंगा दौड प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथमले ३० हजार, द्वितीयले २० हजार, तृतीयले १० हजार तथा सान्त्वनाले ५ हजार सहित ट्रफि,प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । पुरुषतर्फ ३५ टिम तथा महिलातर्फ १५ टिमको सहभागिता रहने आयोजकको अपेक्षा छ । प्रत्येक टिममा तीनजना डुंगा चालक रहने छन् ।
प्रतियोगिता सफल पार्न फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीको अध्यक्षतामा मूल आयोजक समारोह गठन गरि विभिन्न उपसमिति गठन गरिएको छ । जसअनुसार खेलकुद संयोजकमा बत्ति गुरुङ, प्रचार प्रसार समितिमा शिव रुद्र जि.सी., आर्थिक समितिमा बुद्धिनाथ पाण्डे, मञ्च व्यवस्थापन तथा स्वयंसेवक समितिमा धनबहादुर बि.क., अतिथि सत्कार समितिमा तारा बि.क. रहेका छन् ।




