पोखरा । पोखराको व्यस्त व्यापारिक क्षेत्र न्यूरोड सडकखण्डको पश्चिमतर्फका व्यवसायीले सडकको दुवैतर्फ सवारीसाधन पार्किङको व्यवस्था गर्न माग गरेका छन् ।
पोखरा महानगरपालिकाले सडकको पूर्वी भागमा मात्र पार्किङको व्यवस्था गर्दा पश्चिमतर्फका व्यवसायीले व्यापारमा घाटा व्यहोर्नुपरेको तथा ग्राहकलाई समेत सडक पार गरेर पसलसम्म पुग्न असहज भएको गुनासो गर्दै आएका छन् ।
सोमबार व्यवसायीहरूले न्यूरोडको पश्चिमी भागका अधिकांश घर तथा व्यवसायिक प्रतिष्ठानमा दुवैतर्फ व्यवस्थित पार्किङको माग राख्दै ब्यानर टाँसेका छन् । उनीहरूले पोखरा महानगरपालिकाको कार्यालय परिसरमा समेत ब्यानर राखेर ध्यानाकर्षण गराएका छन् ।
न्यूरोड पार्किङ व्यवस्थापन समितिका संयोजक राजकुमार रम्तेलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसमक्ष सडकको दायाँ–बायाँ दुवैतर्फ पार्किङको व्यवस्था गर्न माग गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो एक सातादेखि न्यूरोडको पश्चिमतर्फ पार्किङ गरिएका सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गर्दै उठाएर लैजाने गरेको छ ।
पूर्वी भागमा मात्र पार्किङको व्यवस्था हुँदा पश्चिमतर्फका व्यवसाय प्रभावित भएको तथा किनमेलका लागि आएका ग्राहकले सडक पार गर्नुपर्ने बाध्यताका कारण दुर्घटनाको जोखिमसमेत बढेको रम्तेलको भनाइ छ ।
होटल दीपसागरका सञ्चालक केपी पाध्या शर्माले पूर्वीतर्फ मात्र पार्किङको व्यवस्था हुँदा पश्चिमतर्फका व्यवसाय चौपट हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले दुवैतर्फ पार्किङको व्यवस्था नगरिए व्यवसाय सञ्चालन गर्न कठिन हुने अवस्था आउने चेतावनी दिनुभयो।
व्यवसायी दिल श्रेष्ठले व्यस्त सडक र सवारीसाधनको चापका कारण सडक पार गर्नु जोखिमपूर्ण बन्दै गएको बताउनुभयो । पार्किङ अभावका कारण उपभोक्ताले भित्री सडकमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन पार्किङ गर्दा अन्य सवारीसाधनको आवागमनमा समेत समस्या उत्पन्न हुने गरेको उहाँको भनाइ छ ।
उपभोक्ता शंकर देवकोटाले एकतर्फी पार्किङ व्यवस्थाका कारण पश्चिमतर्फका पसलसम्म पुग्न समय लाग्ने तथा सामान बोकेर आवतजावत गर्नसमेत कठिन हुने गरेको गुनासो गर्नुभयो ।




