newa srijana

रुपा गाउँपालिकामा कृषि तथा पशु सेवा शाखाको नयाँ भवन उद्घाटन

कृषि उत्पादन वृद्धि र सेवा प्रवाह प्रभावकारी बनाउन कृषि एप सञ्चालन गर्ने तयारी

पोखरा ।  कास्कीको रुपा गाउँपालिका–६, फाल्भञ्ज्याङमा नवनिर्मित कृषि तथा पशु सेवा शाखा कार्यालय भवन उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष नवराज ओझाले बिहीबार आयोजित कार्यक्रममा भवनको उद्घाटन गर्दै कृषि उत्पादन वृद्धि र किसानलाई सहज सेवा उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको बताए।

अध्यक्ष ओझाले पालिकाभित्र कृषि उत्पादन वृद्धि गर्न विशेष बजेट विनियोजन गरिएको जानकारी दिँदै कृषिलाई प्रत्यक्ष उत्पादनसँग जोड्ने विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए।

उपाध्यक्ष लालसुब्बा गुरुङले कृषकको प्रयासलाई गाउँपालिकाले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि किसानको आवश्यकता र भावनाअनुसार कार्यक्रम सञ्चालन गरिने बताइन्।

पशु सेवा शाखा प्रमुख तथा पशुचिकित्सक सुशील अर्यालले नयाँ सुविधासम्पन्न भवन निर्माणसँगै सेवा प्रवाह थप प्रभावकारी र सहज हुने विश्वास व्यक्त गरे। कृषि विकास शाखा प्रमुख प्रकाश धानुकले किसानलाई थप परिमार्जित तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए।

सिटीजन फनिच्रर

प्रशासन शाखा प्रमुख लोकनाथ पौडेलले पालिकावासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले स्थानीय सरकारले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए।

वडा नं. २ का अध्यक्ष राजन सुवेदीले कृषकहरू आधुनिक प्रविधिसँग जोडिनुपर्नेमा जोड दिँदै कृषि उत्पादनको बजारीकरणमा वडा कार्यालय र गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। वडा नं. ५ का अध्यक्ष राजन खनालले पालिकाबाट उपलब्ध गराइएका सुविधा कृषि उत्पादन वृद्धि र उत्पादकत्व बढाउन सदुपयोग गर्न कृषकलाई आग्रह गरे।

कार्यक्रममा कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नयाँ भवन सञ्चालनमा आएपछि स्थानीय कृषकले एउटै स्थानबाट कृषि तथा पशु सेवासम्बन्धी सेवा प्राप्त गर्नेछन्। साथै कृषि तथा पशु सेवासम्बन्धी प्राविधिक प्रयोगशालाको सुविधा पनि पालिकामै उपलब्ध हुने भएको छ।

यसैबीच, कृषि उत्पादनको बजारीकरणलाई प्रविधिसँग जोड्ने उद्देश्यले गाउँपालिकाले कृषि एप सञ्चालन गर्ने तयारी गरेको छ। एपको प्रभावकारी सञ्चालनका लागि कृषकसँग छलफल गरी सुझाव सङ्कलन गरिएको सूचना प्रविधि अधिकृत लक्ष्मण पंगेनीले जानकारी दिए। उनका अनुसार कृषकका सुझाव समेटेर एपमार्फत कृषि उत्पादनको बजारीकरणलाई प्रभावकारी बनाइनेछ।

Pokhara learners