newa srijana

पोखरामा पर्यटकमैत्री सूचना प्रणाली सुरु

प्रहरी र पर्यटन परिषद्को संयुक्त पहलमा QR Code सार्वजनिक, पर्यटक सुरक्षासम्बन्धी जानकारी अब डिजिटल माध्यमबाट उपलब्ध

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय र पोखरा पर्यटन परिषद्को संयुक्त पहलमा पर्यटकलाई सुरक्षित, सहज तथा प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले पर्यटक सुरक्षासम्बन्धी जानकारीमूलक QR Code सार्वजनिक गरिएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जी.सी.को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न संघसंस्था, पर्यटन व्यवसायी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पर्यटन सुरक्षा तथा पर्यटकमैत्री सेवा प्रवाहका विषयमा अन्तरक्रिया समेत गरिएको थियो।

सिटीजन फनिच्रर

सार्वजनिक गरिएको QR Code स्क्यान गरी स्वदेशी तथा विदेशी पर्यटकले नेपाल प्रहरीका आपत्कालीन सम्पर्क नम्बर, पर्यटन सुरक्षासम्बन्धी जानकारी, आवश्यक सम्पर्क विवरण तथा अन्य उपयोगी सूचना सहज रूपमा प्राप्त गर्न सक्नेछन्। यस प्रणालीले आपत्कालीन अवस्थामा आवश्यक सूचना तत्काल उपलब्ध गराउनुका साथै पर्यटकको सुरक्षित यात्रामा सहयोग पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा पर्यटन सुरक्षालाई थप प्रभावकारी बनाउने, पर्यटकमैत्री वातावरण निर्माण गर्ने तथा सुरक्षा निकाय र पर्यटन क्षेत्रबीचको समन्वयलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो। सहभागीहरूले पर्यटन क्षेत्रको दिगो विकासका लागि सम्बन्धित सबै निकायबीच प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराई, परिषद्का महासचिव जीवनराज सापकोटा, होटल एसोसिएसन नेपाल (हान) पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पोखरेल, नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्ष विकास गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की, एगा पोखराका अध्यक्ष गोकर्ण लम्साल, टेसा पोखराका अध्यक्ष टीकाबहादुर लम्साल, भिटोफ गण्डकीका अध्यक्ष रमेश अर्याल, नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकीका अध्यक्ष रविप्रसाद आचार्य, फेवा डुङ्गा व्यवसायी संगठन लेकसाइड पोखराका अध्यक्ष बलाराम गिरी, ओटेफ पोखराका अध्यक्ष ममता न्यौपाने, टेवान पोखराका अध्यक्ष शोभा न्यौपाने, विदेशी मुद्रा सटही संस्था पोखराका अध्यक्ष रूपकराज मिश्र, नाट्टा गण्डकी प्रदेशकी उपाध्यक्ष सङ्गीता पौडेल, रेवान पोखराका उपाध्यक्ष विकास भट्टराई, महासचिव वीरेन्द्र शेरचन, अन्नपूर्ण केबलकारका दिनेश पौडेललगायत पर्यटन तथा सुरक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Pokhara learners