newa srijana

जनप्रियमा रोजगार सुनिश्चित गर्ने कम्प्युटर सीप कार्यक्रम सुरु

कक्षा ११ का ३० विद्यार्थीलाई दुई वर्ष निःशुल्क तालिम, अध्ययनसँगै व्यावसायिक दक्षता विकास गरिने

पोखरा । पोखराको जनप्रिय माध्यमिक विद्यालयले विद्यार्थीलाई अध्ययनसँगै व्यावसायिक सीप प्रदान गरी रोजगारीका लागि सक्षम बनाउने उद्देश्यले रोजगारमुखी कम्प्युटर सीप कार्यक्रम सुरु गरेको छ। कार्यक्रमअन्तर्गत कक्षा ११ मा अध्ययनरत छनोट भएका ३० जना विद्यार्थीलाई दुई वर्षसम्म दैनिक डेढ घण्टा व्यावहारिक कम्प्युटर तालिम प्रदान गरिने भएको छ।

ड्रिम फाउन्डेसन कोरियाको सहयोगमा सञ्चालन भएको कार्यक्रमबाट आधुनिक श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक देवीप्रसाद वस्ताकोटी ले बताए।

कम्प्युटर प्रयोगशालाको उद्घाटन गर्दै सोलिडारिटी फर डेभलपमेन्ट अफ नेपाल (एसओडी नेपाल) का अध्यक्ष ज्ञानप्रसाद श्रेष्ठ ले प्राविधिक तथा सीपमूलक शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गरी युवाको विदेश पलायन न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। नेपालमै रोजगारीका अवसर विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो।

विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य देवीप्रसाद त्रिपाठी को अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वअध्यक्ष परशुराम बराल ले विद्यार्थीलाई प्राप्त अवसरको सदुपयोग गर्दै सीप हासिल गर्न आग्रह गरे। पोखरा महानगरपालिका–८ का कार्यवाहक अध्यक्ष गोविन्द बराल ले गण्डकी प्रदेशमै यो कार्यक्रम नमुना पहलका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।

सिटीजन फनिच्रर

शिक्षक अभिभावक संघका अध्यक्ष केदार धमला ले सूचना प्रविधिसम्बन्धी सीपले विद्यार्थीको भविष्य थप प्रतिस्पर्धी बनाउने उल्लेख गर्दै पहिलो समूहका विद्यार्थीलाई लगनशीलताका साथ तालिम लिन आग्रह गरे।

विद्यालयका शिक्षक विष्णुहरि त्रिपाठी का अनुसार कक्षा ११ मा अध्ययनरत करिब ३ सय ५० विद्यार्थीमध्ये छनोट गरिएका ३० जना तथा पाँच जना वैकल्पिक विद्यार्थीलाई तालिममा सहभागी गराइएको छ। तालिम पूरा गरेपछि उनीहरूलाई रोजगारीसँग जोड्ने लक्ष्य राखिएको उनले बताए।

विद्यालयले यसअघि सिभिल इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्दै आएको र प्राविधिक शिक्षालाई निरन्तर प्राथमिकता दिँदै आएको शिक्षक–कर्मचारी प्रतिनिधि धिरज थापा ले जानकारी दिए। हाल विद्यालयमा करिब एक हजार ८ सय विद्यार्थी अध्ययनरत छन्।

पोखरा महानगरपालिका, एसओडी नेपाल, ड्रिम फाउन्डेसन कोरिया र विद्यालयको सहकार्यमा सञ्चालन भएको उक्त कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विद्यालय परिवार प्रतिबद्ध रहेको सहायक प्रधानाध्यापक ऋषिराम अधिकारी ले बताए।

Pokhara learners