पोखरा । कतारमा कार्यरत नेपालीहरूले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ११ लाख १३ हजार ३ सय २७ रुपैयाँ सहयोग गरेका छन्।
दोहास्थित बलदिया–५२ क्याम्पमा बसोबास तथा कार्यरत नेपालीहरूले स्वेच्छिक रूपमा संकलन गरेको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको छ।
रसुवामा बाढीले ठूलो जनधनको क्षति पुर्याएको खबर सार्वजनिक भएपछि क्याम्पमा रहेका नेपालीहरूले पीडित परिवारलाई सहयोग गर्ने निर्णय गरेका थिए। नेपालीहरूले आफ्नो क्षमताअनुसार कुल २७ हजार कतारी रियाल संकलन गरेको सहयोगी दुर्गा प्रसाद चापागाईंले जनाएका छन्।

सहयोग संकलनमा मोहम्मद जमालुद्दिन खान, सरोज यादव, बिमल तिम्सिना, दुर्गा चापागाईं, कौनेन मन्सुर, नाजम खान, दिनेश यादव, विजय यादव, अलाउद्दिन खान, रमेश यादव र युवराज भारतीलगायत सहभागी थिए।

यो कुनै एक व्यक्तिको नभई क्याम्पमा रहेका नेपालीहरूको सामूहिक सहयोग भएको र आआफ्नो क्षमता र कमाइअनुसार सबैले सहयोग गरेको सहयोगी दुर्गा प्रसाद चापागाईंले बताए।

विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै उनीहरूले राहत तथा पुनःस्थापनामा सरकारलाई सहयोग पुर्याउने उद्देश्यले रकम संकलन गरेको जनाएका छन्।

कतारमा रोजगारीका लागि रहेका नेपालीहरूले यसअघि पनि नेपालमा आइपर्ने विपत्तिका बेला सहयोग गर्दै आएका छन्।




