काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले रहरले नभई आवश्यकताले अध्यादेश ल्याएको बताएका छन् । नेपाल मगर सङ्घले मंगलबार माघेसङ्क्रान्ती पर्वको अवसरमा काठमाडौँको टुँडीखेलमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै उनले जनतालाई छिटोछरितो सेवा प्रदान गर्न अध्यादेश जरूरी रहेको जिकिर गरे ।
सरकारका प्रवक्ता मन्त्री गुरुङले नेपालमा विकासका काममा अवरोध सिर्जना गर्ने थुप्रै जटिल कानुनी प्रक्रिया रहेको र प्रक्रियागत कानुन बनाउन ६ वर्षभन्दा बढी समय लाग्ने गरेको बताए । ‘यसरी कानुनी प्रक्रियामै अल्झिँदा विकासमा अड्चन आइरहेको छ । यसले जनताको सेवामा बाधा पुग्नाका साथै मुलुकको विकासमा अवरोध सिर्जना हुँदै आएको थियो,’ उनले भने, ‘त्यसै कारण जनतालाई सेवा सुविधा दिने कुरामा सहज होस् भनेर सरकारले अध्यादेश ल्याएको हो ।
मन्त्री गुरुङले अध्यादेशल सूचना प्रविधि (आइटी) सम्बन्धी व्यवसाय गर्नेहरुलाई सहज वातावरण सिर्जना गर्ने र विदेशी कम्पनीसँग ऋण लिन पाउने व्यवस्थाले व्यवसायको विकासमा प्रोत्साहन मिल्ने जिकिर गरे ।