newa srijana

पोखरामा बृहत् मोटरसाइकल र्‍याली हुँदै, महायज्ञको प्रचारमा उत्साह 

पोखरा । मानवसेवा फाउण्डेशनको आयोजनामा सञ्चालन हुँदै गरेको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ को प्रचारप्रसारलाई व्यापक बनाउन शनिबार बैशाख १३ गते पोखरामा बृहत् मोटरसाइकल र्‍याली आयोजना हुने भएको छ। धार्मिक र सामाजिक सद्भाव फैलाउने उद्देश्यले आयोजना हुने यो र्‍याली बिरौटास्थित कोटिहोम स्थलबाट सुरु भई पोखराका विभिन्न भागहरू हुँदै पुनः बिरौटामै समापन हुनेछ।

यसअघि महायज्ञको सन्देश फैलाउन बैशाख ११ गते बृहत् साइकल र्‍याली र बैशाख १२ गते ट्याक्सी र्‍याली भव्य रुपमा सम्पन्न भइसकेका छन्। साइकल र्‍यालीमा सयौं स्थानीयले उत्साहपूर्वक सहभागिता जनाएका थिए भने ट्याक्सी र्‍यालीले शहरभर धार्मिक एकता र सामाजिक सहकार्यको सन्देश प्रवाह गरेको थियो। ट्याक्सी र्‍याली बिरौटाबाट सुरु भई ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, सितलादेवी, कुँडुहर, मियापाटन, अमरसिंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक हुँदै बिरौटामा सम्पन्न भएको थियो।

World link net

महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले मोटरसाइकल र्‍यालीले पनि अघिल्ला र्‍यालीहरूझैं पोखरेली समाजमा धार्मिक जागरण र सामाजिक एकताको सन्देश फैलाउने विश्वास व्यक्त गर्नुभयो। “यी र्‍यालीहरूले महायज्ञको महत्व जनजनसम्म पुर्‍याउनुका साथै पोखरेली समाजमा एकताको भावना जागृत गरिरहेका छन्,” उहाँले भन्नुभयो।

महायज्ञको प्रचारमा थप ऊर्जा भर्न फाउण्डेशनले बैशाख १४ गते फेवातालमा डुङ्गा र्‍याली तथा बैशाख १६ गते बृहत् कशलयात्रा गर्ने तयारी गरिरहेको छ। बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म सञ्चालन हुने विराट ज्ञान महायज्ञले पोखरालाई धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउने लक्ष्य राखेको छ।

मानवसेवा फाउण्डेशन तथा आयोजक समितिले मोटरसाइकल र्‍यालीमा सहभागी हुन सम्पूर्ण पोखरेली, धार्मिक संघ–संस्था, युवा समूह र स्थानीयवासीहरूलाई हार्दिक आह्वान गरेको छ।

 

सिटीजन फनिच्रर