पोखरा । गण्डकी कोटिहोम, पोखरामा भोलि वैशाख १५ गते भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यमा विशेष महायज्ञ उत्सव आयोजना हुने भएको छ। प्रमुख दाहालको उपस्थिति यस धार्मिक कार्यक्रमको महत्त्व र गरिमालाई थप उच्च बनाउने विश्वास लिइएको छ।
वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माणपछि सुरु भएको ४१ दिन लामो महायज्ञले व्यापक धार्मिक आस्था र सामाजिक एकताको सन्देश फैलाइरहेको छ। भक्तजनहरूलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डजस्ता सामग्रीसहित सहभागिता जनाउन आमन्त्रण गरिएको छ।
महायज्ञमा सुश्री अनुराधा पाण्डेय र अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाले कथा प्रवचन सुरु गरिसकेका छन् भने दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतका धर्मगुरुहरू पनि कथा वाचनमा सहभागी भइरहेका छन्।

यस विशेष अवसरमा भजन, सत्सङ्ग, पूजापाठ, आरती र सांस्कृतिक कार्यक्रमहरू निरन्तर आयोजना भइरहेका छन्। साथै, आयोजकले सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरेको छ, जसले सांस्कृतिक रचनात्मकता र सहभागीहरूबीचको आत्मीयता बढाउने अपेक्षा गरिएको छ।
देश–विदेशबाट लाखौं भक्तजनको उपस्थिति रहने विश्वास गरिएको यो महायज्ञले गण्डकी कोटिहोमको धार्मिक तथा सामाजिक पहललाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। देवी प्रतिभाले दैनिक कथा वाचन र सामाजिक अभियानमार्फत सामाजिक जागरण र सांस्कृतिक संरक्षणमा उल्लेखनीय योगदान दिँदै आएकी छन्।
प्रमुख रेनु दाहालको उपस्थितिले महायज्ञलाई थप ऊर्जा प्रदान गर्दै गण्डकी कोटिहोमको प्रयासलाई राष्ट्रिय स्तरमा उजागर गर्ने विश्वास लिइएको छ।
