newa srijana

हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना हुँदै

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २५, हेमजामा “युवा एकता र विकासका लागि खेलकुद” भन्ने मूल नाराका साथ हेमजा युनाइटेडको आयोजनामा यही जेठ १० देखि १७ गतेसम्म ३५ वर्षमाथिको उमेर समूहका लागि “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२” हुने भएको छ। पोखरा महानगरपालिका र वडा नम्बर २५ को संरक्षणमा आयोजित यो प्रतियोगिता गौरीशङ्कर खेल मैदान (गैरी) मा सञ्चालन हुनेछ।

प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदमार्फत सामुदायिक एकता र भाइचारा प्रवर्द्धन गर्नु, खेलप्रति अभिरुचि जगाउनु, स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु र गौरीशङ्कर खेल मैदानको स्तरोन्नति तथा संरक्षण गर्नु रहेको हेमजा युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठले बताए।

World link net

प्रतियोगितामा विजेताले नगद १ लाख ११ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५५ हजार ५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। यस्तै, उत्कृष्ट गोलकर्ता, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डलाई प्रत्येक विधामा २ हजार नगद र ट्रफी प्रदान गरिनेछ। प्रतियोगिताभरको उत्कृष्ट खेलाडीलाई ५ हजार नगद र ट्रफी तथा क्वाटर फाइनलदेखिका प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषणा गरी ट्रफी दिइने प्रतियोगिता संयोजक इन्द्रबहादुर कुँवरले जानकारी दिए।

प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क १० हजार रुपैयाँ तोकिएको छ। टिम दर्ताका लागि जेठ ८ गते बिहीबार साँझ ५:३० बजेसम्म सम्पर्क गर्न खेल संयोजक सौरभ काकीले आह्वान गरेका छन्।

गण्डकी प्रदेश फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ र जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगमा आयोजना हुने यो प्रतियोगिताले स्थानीय खेलकुदको विकास र सामुदायिक सद्भावमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सिटीजन फनिच्रर