सुचना१
newa srijana

हेमजा युनाइटेडद्वारा आयोजित अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा वडा नं. १ र १५ भिड्ने

पोखरा । हेमजा युनाइटेडको आयोजनामा “युवा एकता र विकासका लागि खेलकुद” भन्ने मूल नाराका साथ जेठ १० गतेदेखि सञ्चालित अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल खेल बिहीबार सम्पन्न भएको छ। सेमिफाइनलका दुवै खेल निकै प्रतिस्पर्धात्मक रहँदा वडा नं. १ र वडा नं. १५ ले फाइनलमा स्थान बनाएका छन्। फाइनल खेल जेठ १७ गते दिउँसो ठीक १:०० बजे हुने खेल संयोजक इन्द्र बहादुर कुँवरले जानकारी दिए।

पहिलो सेमिफाइनल खेलमा वडा नं. १ र वडा नं. २५ बीच भएको खेल निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएपछि ट्राइब्रेकरमा पुगेको थियो। ट्राइब्रेकरमा वडा नं. १ ले ५–३ को गोल अन्तरले वडा नं. २५ लाई पराजित गर्दै फाइनलमा प्रवेश गर्‍यो। वडा नं. १ को जितमा जर्सी नं. ७ का ईश्वर गुरुङ, जर्सी नं. १० का मिलन गुरुङ, जर्सी नं. २ का अन्तिम गुरुङ, जर्सी नं. १६ का असीम र जर्सी नं. ९ का बासु जी.सी.ले १–१ गोल गरे। खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. १ का जर्सी नं. ९ का बासु जी.सी. म्यान अफ दि म्याच घोषित भए।

दोस्रो सेमिफाइनल खेलमा वडा नं. १५ ले वडा नं. ५ लाई ४–१ को गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गर्‍यो। वडा नं. १५ का लागि जर्सी नं. २३ का इन्द्र थापाले २ गोल गरे भने जर्सी नं. १२ का मिलन गुरुङ र जर्सी नं. ७७ का सोम गुरुङले १–१ गोल थपे। यो खेलमा वडा नं. १५ का जर्सी नं. १२ का मिलन गुरुङ म्यान अफ दि म्याच चुनिए।

Pokhara महोत्सव

जेठ १७ गते हुने फाइनल खेलमा वडा नं. १ र वडा नं. १५ बीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। हेमजा युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठका अनुसार प्रतियोगिताको विजेताले नगद रु. १,११,१११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले नगद रु. ५५,५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ।

यसबाहेक, व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येकलाई नगद रु. २,००० र ट्रफी प्रदान गरिनेछ।

प्रतियोगिताभरको उत्कृष्ट खेलाडीलाई नगद रु. ५,००० र ट्रफी दिइनेछ। क्वार्टरफाइनलदेखि प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषणा गरी ट्रफी प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताए।

यो प्रतियोगितामा ३५ वर्षमाथिका खेलाडीहरूको सहभागिता रहेको छ। पोखरा महानगरपालिका र वडा नं. २५ को संरक्षणमा आयोजित यो प्रतियोगिता गण्डकी प्रदेश फुटबल संघ, कास्की जिल्ला फुटबल संघ र जिल्ला फुटबल समितिको विशेष सहयोगमा सञ्चालित छ।

पुल सेन्टर
वडा नं २६