सुचना१
newa srijana

गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट : कास्की र पर्वतको शानदार जित

पोखरा । गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगितामा पर्वतले नवलपुरलाई १५ रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको छ। पोखराको क्रिकेट मैदानमा भएको यो खेलमा पर्वतले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण अंक जोडेको हो। यस्तै, अर्को खेलमा कास्कीले गोरखालाई १० विकेटले पराजित गर्दै शानदार जित निकालेको छ।

पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको पर्वतले २० ओभरमा ९ विकेट गुमाएर १३१ रन बनायो। अभिषेक थापाले ४० बलमा ५२ रन (५ चौका, ३ छक्का), अभिराज पटेलले ३७ रन र बिनोद नेपालीले १४ रन जोडे। नवलपुरका कमल परियार र सुदीप अर्यालले २–२ विकेट लिए।

१३२ रनको लक्ष्य पछ्याएको नवलपुर १८.५ ओभरमा ११६ रनमै समेटियो। गौरव विष्टले २५ रन, स्विकार श्रेष्ठले १८ रन र विगत पाण्डेले १७ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। पर्वतका कप्तान अमृत गुरुङले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए। राजु थापाले ३ विकेट र बिनोद नेपालीले २ विकेट हात पारे। अमृत गुरुङ ‘प्लेयर अफ द म्याच’ चुनिए।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको गोरखा १९.५ ओभरमा ९० रनमै अलआउट भयो। स्वरुपराज श्रेष्ठले २१ रन र मेहुल श्रेष्ठले १८ रन बनाए। कास्कीका सुबास भण्डारीले ३ विकेट, सिब्रिन श्रेष्ठले २ विकेट र कृष्ण पौडेल तथा अर्जुन केसीले १–१ विकेट लिए।

९१ रनको लक्ष्य पछ्याएको कास्कीले ८.४ ओभरमै कुनै विकेट नगुमाई जित हासिल गर्यो। अनिल गुरुङले २७ बलमा ५१ रन (६ चौका, ३ छक्का) र अर्जुन कुमालले ३९ रन बनाए। अनिल गुरुङ ‘प्लेयर अफ द म्याच’ बने।

कास्कीले २ खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ। पर्वत र नवलपुर १–१ जितसहित २–२ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन्। भोलि गोरखा र पर्वत तथा कास्की र नवलपुरबीच खेल हुनेछ, जसले फाइनल पुग्ने टिमको टुंगो लगाउनेछ।

प्रदेश खेलकुद परिषद् गण्डकीको सहयोग र प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा भएको यो प्रतियोगितामा ८ जिल्ला सहभागी छन्। विजेताले १ लाख, उपविजेताले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। उत्कृष्ट खेलाडीलाई ४ हजार, उत्कृष्ट ब्याट्सम्यान, बलर र उदियमान खेलाडीलाई २–२ हजार र प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १ हजार नगदसहित ट्रफी दिइनेछ।

Sadak 1
पुल सेन्टर