पोखरा । पोखरास्थित संस्कृत माध्यमिक विद्यालय परिसरमा निर्माण गरिएको भगवान शंकरको जटाबाट निस्कने प्रतीकात्मक जलधाराको आज एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। जलधारासहितको उद्यानको निर्माण विद्यालयको आन्तरिक स्रोत र डिभिजन वन कार्यालय कास्कीको सहकार्यमा सम्पन्न भएको हो, जसको कुल लागत करिब पाँच लाख ब्याञ्चानब्बे हजार रुपैयाँ रहेको छ।
उद्घाटन केदारेश्वर महादेव मणि मन्दिरका पीठाधीश चिद्घन चैतन्यजी महाराजले गर्नुभयो। उहाँले सम्बोधन गर्दै साँचो धर्म आत्मसन्तुष्टि र स्थिर मनका साथ गरिएको कार्यबाट मात्र सार्थक हुने बताउनुभयो। उहाँका अनुसार भोकै बसेर पूजा गर्ने वा ठूलो दान गर्ने मात्रले होइन, शान्त र स्थिर मनले कर्तव्य पालन गर्न सक्ने व्यक्तिले नै वास्तविक धर्म अभ्यास गरेको मानिन्छ।
महाराजले धर्म र संस्कृति राष्ट्रको आधारभूत मर्म भएको उल्लेख गर्दै अभिभावकहरूले आफ्ना सन्तानलाई यसको महत्त्व सिकाउनुपर्नेमा जोड दिनुभयो। साथै, विदेश रोजगारी वा अध्ययनका लागि जाने युवाहरुलाई सकेसम्म देशमै सेवा गर्न प्रेरित गर्न समेत आग्रह गर्नुभयो।
समारोह विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष तथा गोरखापत्र दैनिकका गण्डकी व्यूरो प्रमुख रमेश पौडेललाई धर्म, संस्कृति र शिक्षामा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरियो।
विद्यालयका प्राचार्य श्रीकृष्ण सिग्देल र प्रा. डा. जगन्नाथ रेग्मी लगायत वक्ताहरूले धर्म, संस्कृति र संस्कृत शिक्षाको महत्वबारे विचार व्यक्त गरे। विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्मको पठनपाठन हुन्छ र २६० जना विद्यार्थी अध्ययनरत छन्। तीमध्ये ७० जनालाई निःशुल्क आवास र भोजनको सुविधा विद्यालयले उपलब्ध गराउँदै आएको छ।
गुरुकुल शिक्षाको प्रवर्द्धनका लागि विद्यालयले अक्षयकोष स्थापना गरेको छ, जसमा हालसम्म ६५ लाख रुपैयाँ संकलन भइसकेको छ। संस्कृत शिक्षा केन्द्र भए पनि यहाँ वेद–कर्मकाण्डसँगै अंग्रेजी, विज्ञान र गणितजस्ता विषय पनि पढाइ हुने भएकाले विद्यार्थीको भर्ना दर वर्षेनी बढ्दै गएको विद्यालय प्रशासनको भनाइ छ।
