पोखरा । अटोमोबाइल, दिगो सडक तथा सुरक्षित यातायातको क्षेत्रमा अध्ययन, अनुसन्धान, सैद्धान्तिक र प्राविधिक तालिम तथा स्किल ट्रान्सफर्मेसन जस्ता कार्यका लागि मोटरिङ एकेडेमीको सुरुवात गरिएको छ।
गत साउन १७ र १८ गते काठमाडौंमा आयोजित ‘पोलिसी डायलग अन अटोमोबाइल एन्ड बेटर मोबिलिटी’ को अवसरमा अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) का उपाध्यक्ष ग्रेग क्राफ्ट, स्वदेशी तथा विदेशी विश्वविद्यालयका प्रतिनिधिहरू तथा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरूको उपस्थितिमा सो एकेडेमीको घोषणा गरिएको हो।
मोटरिङ नेपाल तथा नेपाल अटोमोबाइल्स एसोसिएसनले अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए), अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआईएम), अन्तर्राष्ट्रिय रोड फेडेरेसन (आईआरएफ) तथा अन्तर्राष्ट्रिय पावरबोट युनियन (यूआईएम) जस्ता अटोमोबाइल, सडक तथा यातायात क्षेत्रका अन्तर्राष्ट्रिय फेडेरेसनहरूसँग समेत सहकार्य गर्ने गरी काठमाडौंमा ‘मोटरिङ एकेडेमी’ सुरु गरिएको हो।
मोटरिङ एकेडेमीले इनोभेसन, रेसिङ, राइडिङ, ड्राइभिङ र टुरिङ सम्बन्धी सीप विकासलाई प्रवर्द्धन गर्ने, सुरक्षा बढाउने र मोटरस्पोर्ट्सप्रतिको रुचि तथा उत्साहलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। मोटरिङ एकेडेमीले सवारी साधन मर्मत, सुरक्षा र उन्नत ड्राइभिङ प्रविधि सम्बन्धी पाठ्यक्रमहरू सञ्चालन गर्नेछ, जसको उद्देश्य सडक दुर्घटना कम गर्नु र सवारी साधनको मर्मतसम्बन्धी सचेतना बढाउनु हो।
रेसिङ अन्तर्गत यसको सीप विकास, सेफ्टी ट्रेनिङ, ट्यालेन्ट पहिचान र नेटवर्किङ लगायतका कार्य हुनेछ। मोटरिङ एकेडेमीले मोटरस्पोर्ट इन्जिनियरिङ, रेसिङका प्रविधि तथा रणनीति र उन्नत ड्राइभिङ प्रविधि सम्बन्धी विशेष पाठ्यक्रमहरू उपलब्ध गराउनेछ, जसको लक्ष्य प्रतिस्पर्धात्मक रेसिङमा सेफ्टी कल्चरलाई प्रोत्साहन गर्नु र ट्र्याकमा सहभागीहरूको सीप अभिवृद्धि गर्नु हो।
ड्राइभिङ ट्रेनिङ अन्तर्गत व्यापक शिक्षा, लाइसेन्सको तयारी, अनुकूलित शिक्षा, सुरक्षित ड्राइभिङ प्रवर्द्धन लगायतका कार्य हुनेछ भने राइडिङ कोर्स अन्तर्गत राइडर सेफ्टी, टेक्निकल स्किल डेभलपमेन्ट, कम्युनिटी बिल्डिङ र उत्तरदायी ड्राइभिङ विकास लगायतका कार्य हुनेछन्।
टुरिङ क्रियाकलाप अन्तर्गत अनुभव आदान–प्रदान, सीप सुधार, सांस्कृतिक अन्वेषण, सामुदायिक सहभागिता लगायतका कार्य हुनेछन्।
यी सबै कार्यका लागि एक व्यवस्थापन समिति रहने छ। व्यवस्थापन समितिको नेतृत्व ई. महेश अधिकारीले गर्नेछन्। त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट एक जना, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) बाट एक जना, मोटरिङ नेपालबाट एक जना, एक जना विज्ञ सदस्य र एक जना व्यवस्थापक सहित ७ जनाको एक समिति रहने छ। यसले सम्पूर्ण नीतिगत, व्यवस्थापकीय र दैनिक कार्य सञ्चालन गर्नेछ।
विश्वका अटोमोबाइल क्षेत्रमा एफआईए इन्स्टिच्युट तथा एफआईए फाउन्डेसन, एफआईएम एकेडेमी, यूआईएम एकेडेमी लगायतका विभिन्न अध्ययन अनुसन्धानसँग सम्बन्धित संस्थाहरूले यो क्षेत्रमा कार्य गरिरहेका छन्। यसबाहेक, इंटरनेशनल ट्रान्सपोर्ट फोरम (ITF), वर्ल्ड रोड एसोसिएसन (PIARC), एशियाली विकास बैंक (ADB), विश्व बैंक (World Bank), संयुक्त राष्ट्र संघको सडक सुरक्षा कार्यक्रम (UN Road Safety Fund) जस्ता संस्थाहरू पनि यस क्षेत्रमा सक्रिय छन्।
नेपालमा समेत काठमाडौं विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान जस्ता एकेडेमिक संस्थाहरू तथा केही निजी क्षेत्रबाट समेत रिसर्च कार्य भएका छन्।
एफआईए, एफआईए फाउन्डेसन तथा एफआईएम र यिनका सदस्यहरूले धेरै अध्ययन अनुसन्धान गरेका छन्। थुप्रै देशका अटोमोबाइल फेडेरेसनहरूले समेत रिसर्च, डेभलपमेन्ट र इनोभेसनका लागि महत्वपूर्ण कार्य गरिरहेका छन्।
नेपालको अटोमोबाइल क्षेत्रमा आवश्यक मात्रा अध्ययन अनुसन्धान भएको छैन। त्यो चाहे नीतिमा होस् या प्रविधिमा, हार्डवेयरमा होस् या सफ्टवेयरमा। यही अवस्थालाई मध्यनजर गर्दै यस एकेडेमीको स्थापना गरिएको हो।
एकेडेमीको सचिवालय सञ्चालनका लागि मोटरिङ नेपालले गर्नेछ, जुन नेपालको अटोमोबाइल क्षेत्रको एउटा सामाजिक संस्था हो र नेपाल अटोमोबाइल्स एसोसिएसनको एसोसिएट सदस्य समेत हो।
