पोखरा। उच्च हिमाली क्षेत्रहरूमा घुमघामका लागि पुग्ने पर्यटकलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ।
पदयात्रा र धार्मिक हिसावले हिमाली क्षेत्रमा पुग्ने पर्यटकको सुरक्षालाई केन्द्रमा राखेर मुस्ताङस्थित घरपझोङ गाउँपालिकाको आयोजना र होटल संघ पोखरा नेपालको समन्वयमा कार्यक्रम गरिएको थियो। खासगरी पछिल्ला वर्षहरूमा नेपालको सिमावर्ती तराई र सँगैका भारतीय शहरबाट पर्यटकहरू एकै दिनमा सिधै मुक्तिनाथको दर्शन गर्न जाने क्रम बढेको हुँदा सरोकारवालाहरूको ध्यानाकर्षण भएको हो।
समुद्र सतहबाट एक सय मिटर हाराहारी उचाइमा रहेको तराई क्षेत्रबाट एकै दिन ३७१० मिटर उचाइको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यका लागि निकै नकारात्मक हुने व्यवसायीहरूले चर्चा गरेका थिए। कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनले यस विषयलाई नीति निर्माण तहबाटै सुधार गर्न गण्डकी प्रदेश सभामा आफूले कुरा उठाउने प्रतिवद्धता व्यक्त गरे।
उहाँले अन्नपूर्ण क्षेत्रको मुख्य पर्यटन भनेको अन्नपूर्ण चक्रीय पदयात्रा मार्गमा आधारित भएको भन्दै, यस क्षेत्रका विभिन्न ठाउँमा पर्यटकले देख्ने र बुझ्ने गरी सूचना तथा सचेतनामूलक सामग्रीको व्यवस्था हुनुपर्ने सुझाव पनि राखे।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालले अब पर्यटकको संख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो। भारतीय पर्यटक रातारात एकै दिनमा मुक्तिनाथ पुगेर मुस्ताङ र पोखरा दुबै ठाउँमा रात नकटाई फर्किने परिपाटीले सुरक्षा जोखिम बढाएको मात्र नभई बसाई अवधि छोटिन गएको उहाँले बताए। यस किसिमको जोखिम मोल्दा कतिपय पर्यटकको ज्यान समेत गएको उहाँले स्मरण गराए।
होटल संघ नेपालका केन्द्रीय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले पर्यटकलाई राम्रो सूचना प्रदान गरेर उनीहरूको बसाई अवधि लम्ब्याउन सकिने सुझाव राखे। यसका लागि पोखरामा पूर्वाधारयुक्त सूचनाकेन्द्रको आवश्यकतामा समेत जोड दिए। उहाँले पर्यटकको सुरक्षा, वातावरण संरक्षण र बसाई अवधि लम्ब्याउने विषय पर्यटनमा महत्वपूर्ण रहेको बताए।
होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले पर्यटकलाई हतारमा उचाइमा पुर्याउने प्रवृत्तिलाई निरुत्साहित गर्न केही दिनअघि आफ्नो संस्थाले विज्ञप्ति निकालेको स्मरण गराए। तर, सरकारी पक्षले यसलाई गम्भीरतापूर्वक नलिएकोमा दुःख व्यक्त गरे।
आयोजक संस्था घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले छोटो समयमा एकैपटक होचो भूभागबाट २८०० मिटर माथिको उचाइमा पुग्नु जोखिमपूर्ण हुने विषय स्मरण गराए। पर्यटकलाई आराम गर्दै, समय लिएर, न्यानो कपडाका साथ उच्च भूभागमा जानुपर्ने जानकारी गराउनुपर्ने बताए।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा. रविन कडरियाले पर्यटकको सुरक्षामा एक्याप सचेत रहेको जानकारी दिनुभयो। उहाँले क्षेत्रका २४५० होटलसँग मिलेर एक्यापले काम गरिरहेको बताए। साहसिक पर्यटन क्षेत्र भएकाले पर्यटकले त्यस अनुसार तयारी गरेर आउने वातावरणको आवश्यकता रहेको भन्दै सरोकारवालाहरूले मिलेर काम गर्नुपर्ने सुझाव दिनुभयो।
एक तथ्यांक अनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको थियो। मृत्यु हुनेमा आठ भारतीय, छ नेपाली, एक-एक अमेरिकी, जर्मन, कोरिया र स्विजरल्याण्डका नागरिक रहेका थिए। त्यस्तै, जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकअनुसार बि.स. २०८१ मा मात्र उक्त जिल्लामा लेक लागेर ज्यान गुमाउनेमा ८ भारतीय, २ नेपाली र १ अमेरिकी नागरिक रहेका थिए।
नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले पर्यटकको सुरक्षाका लागि सचेतनामूलक पुस्तिका वितरण र आवश्यक ठाउँमा सूचनामूलक बोर्ड राख्ने व्यवस्था उपयुक्त हुने सुझाव दिनुभयो। उहाँले बोर्डले सहयोग गर्न तयार रहेको प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स्) कार्ड अनिवार्य राख्दा पर्यटकको सुरक्षा बढ्ने बताए। नाट्टा गण्डकीका उपाध्यक्ष राजेश पहारीले पर्यटनमा नीति र नियमन दुबै आवश्यक रहेको उल्लेख गरे।
होटल एवं पदयात्रा व्यवसायी हरि भुजेलले मुक्तिनाथ पुग्ने धार्मिक पर्यटकको स्वास्थ्यमा खेलवाड गर्ने व्यवसायी र समूहको पहिचान गर्नुपर्ने सुझाव राखे। टान गण्डकीका पूर्व अध्यक्ष धर्मराज पन्थीले सरकारले नै नीति ल्याएर पर्यटकको सुरक्षा सुनिश्चित गर्नुपर्ने सुझाव दिए। नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकीका अध्यक्ष दुर्गादत्त दाहालले छोटो समयमा उचाइमा पुर्याउँदा हुने जोखिमको विषय विगतमा सरकारले ध्यान दिन नसकेको स्मरण गराए।
कार्यक्रमको संचालन घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरी अधिकारीले गरेका थिए।
