पोखरा । तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०८२ सोमवार प्रदान गरिएको छ ।
चौथो पटक प्रदान गरिएको सम्मानमा साहित्यतर्फ टुकादेवी पौडेल आचार्य, पत्रकारितातर्फ हरि खरेल र समाजसेवातर्फ लालप्रसाद गर्तौला सम्मानित भए । शुक्लागण्डकी–२ स्थान्थोकमा रेडियोको दशौं वार्षिक साधारणसभाको अवसरमा आयोजित एक कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम बहादुर विक ‘राजु’, वडा नं. २ का अध्यक्ष सुमन बहादुर राना मगर, रेडियोका अध्यक्ष शिव पौडेल, संस्थापक अध्यक्ष नारायण कुमार श्रेष्ठ लगायतले उनीहरुलाई सम्मान गरे ।
पत्रकारिता र साहित्यतर्फ सम्मानित खरेल र आचार्यले नगद १०÷१० हजार, प्रमाण पत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ नगद ५ हजार र प्रमाणपत्र प्राप्त गरे । तनहुँ जिल्लामा साहित्यिक क्षेत्रमा क्रियाशिल रहेका मध्य एक, खोज पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिबाट छनौट गरि सम्मान गरिएको हो ।
कार्यक्रममा नगर उपप्रमुख खुम बहादुर विक राजुले रेडियोलाई समय अनुसार प्रविधि केन्द्रित गरि चलाउनुपर्ने समय आएको उल्लेख गरे । वडा अध्यक्ष सुमन बहादुर रानाले रेडियोले पर्यटकीय क्षेत्रमा आएर महत्वपूर्ण कार्यक्रम गरिरहदा यस क्षेत्रको प्रचारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा सम्मानित स्रष्टा आचार्यले सम्मानले आफूलाई कलम चलाउने प्रेरित गरेको बताईन् । पत्रकारितातर्फ सम्मानित खरेलले पत्रकारिता क्षेत्रमा थुप्रै चुनौती रहेपनि सानैदेखि लाग्न हौसला दिने सबैप्रति आभार व्यक्त गरे । कार्यक्रममा साहित्यकार आचार्यको परिचय छनौट समितिका संयोजक नारायण कुमार श्रेष्ठ, पत्रकार खरेलको छनौट समिति सदस्य ऋषेश्वर भुवाई र समाजसेवी गर्तौलाको सल्लाहकार कमलमोहन घिमिरेले प्रकाश पारेका थिए ।
वार्षिकोत्सवको अवसरमा उत्कृष्ट स्रोता भिमाद–९, पाथर्दी निवासी तारा थापा, उत्कृष्ट कर्मचारीतर्फ नेवार भाषा कार्यक्रम प्रस्तोताज्ञाननारायण श्रेष्ठ र कुमाल भाषा कार्यक्रम प्रस्तोता मार्टिना कुमाल सम्मानित भए । उत्कृष्ट विज्ञापनदातातर्फ जय शिव सुनचाँदी पसलका शिव बहादुर विक, बरेली टेलर्सका प्रेम परियार, जय शिव इलोक्ट्रोनिक्सका शिव बहादुर श्रेष्ठ र पूर्ण कपडा पसलका पूर्ण बहादुर आले सम्मानित भए ।
रेडियोका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा शेयर धनी सदस्यकोतर्फबाट ठान प्रकाश न्यौपाने, उत्कृष्ट विज्ञापनदाताकोतर्फबाट पूर्ण बहादुर आले लगायतले बोलेका थिए । उपाध्यक्ष आनन्द सुन्दर श्रेष्ठले स्वागत, सचिव टिकाराम श्रेष्ठले सञ्चालन र कार्यक्रम संयोजक राजेन्द्र पौडेलले धन्यवाद ज्ञापन गरेका थिए । साहित्यतर्फ सम्मानित पौडेल विद्यालय अध्ययनसँगै साहित्यतर्फ रुचि र कलम चलाउन थालेकी थिइन् । २०५४ सालमा जिल्ला स्तरीय कविता प्रतियोगितामा प्रथम हुन सफल आचार्यले २०७८ सालमा ‘बार्दली’ लघुकथा सङ्ग्रह प्रकाशनमा ल्याइन् । शिक्षण पेशासँगै शुक्ला साहित्य संगम तनहुँको नेतृत्वमा रहेकी आचार्यको पोखरा–३३ स्थायी ठेगाना भई हाल शुनपा–३ कवासेमा बसोबास छ । विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित आचार्यले साहित्यसँग सम्बन्धित पुस्तकहरुको सम्पादन र व्यवस्थापन गरेको अनुभव छ ।
यस्तै पत्रकारितातर्फ सम्मानित पत्रकार खरेल शुक्लागण्डकीमा रहेर क्रियाशिल छन् । इन्द्रावती गाउँपालिका–४, सिन्धुपाल्चोकमा जन्मिएका खरेल हालः शुक्लागण्डकी–२, हलेदीमा बस्दै आएका छन् । वि.स.२०७६ सालमा तनहुँ खबर राष्ट्रिय दैनिकबाट पत्रकारिता शुभारम्भ गरेका खरेल हाल शुक्ला न्यूज अनलाईनका सम्पादक हुन् । खरेल शुक्लागण्डकी पत्रकार मञ्चका सदस्य हुन् ।
समाजसेवातर्फ सम्मानित ८३ वर्षिय गर्तौला यस क्षेत्रका विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल रहि नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । वि.स. २०३० सालमा उदेनढुंगा गाउँपञ्चायत वडा नं. १ को वडा अध्यक्षमा निर्वाचित गर्तौला २०३४–२०३९ सालसम्म खैरेनी गाउँपञ्चायत अध्यक्ष भएका थिए । सहिद कृष्ण मावि, शुनपा–३, संस्थापक अध्यक्ष रहेका उनले आफ्नै नेतृत्वमा श्री शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाम स्थापना गरेका थिए । हाल गर्तौला शुनपा–३ कवासेमा बस्दै आएका छन् ।
पुरस्कृत एवम् सम्मानित व्यक्तित्व छनौटका लागि रेडियोका पूर्व अध्यक्ष नारायण कुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छनौट समिति गठन गरिएको थियो । समिति सदस्यहरुमा रेडियोका निवर्तमान अध्यक्ष ऋषेश्वर भुवाई ‘ऋतु’ र सल्लाहकार कृष्णप्रसाद पौडेल रहेका थिए । उनीहरुलाई आगामी पुष ७ गते रेडियोको दशौं वार्षिक साधारणसभाको अवसरमा सम्मान गरिने अध्यक्ष शिव पौडेलले जानकारी दिए ।
पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०७९ बाट पत्रकारितातर्फ विश्वबन्धु भण्डारी, साहित्यतर्फ शेषमणि आचार्य र समाजसेवातर्फ भक्तबहादुर रिमाल सम्मानित भएका थिए । यसैगरी २०८० बाट पत्रकारितातर्फ विकास खनाल, साहित्यतर्फ सागर उदास र समाजसेवामा नन्दराज थापा सम्मानित भएका थिए । यस्तै २०८१ पत्रकारितातर्फ प्रकाशचन्द्र भट्टराई, साहित्यतर्फ भिम रानाभाट र समाजसेवातर्फ देउ बहादुर गुरुङ सम्मानित भएका थिए।
रेडियोका शेयरधनी सदस्य, शुभेच्छुकबाट स्वतस्फूर्त र केहि रकम उहाँको परिवारबाट जम्मा गरि ३ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको हो । सोहि रकमको ब्याजबाट प्राप्त आम्दानीले प्रत्येक वर्ष ३ विधामा क्रियाशिल व्यक्तिहरुलाई पुरस्कार प्रदान गरिदै आएको स्टेसन मेनेजर राजन उपाध्यायले जानकारी दिए । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो ।





