पोखरा । फ्रेङ्कलिन एजुकेसन कन्सल्टेन्सीको आयोजनामा फ्र्याङ्कलिन कप फुटसल प्रतियोगिता सञ्चालन हुने भएको छ।
माघ २२ गतेदेखि २५ गतेसम्म पोखरारङ्गशालाको कभर्ड हलमा हुने प्रतियोगितामा इन्टर प्लस टु लेभल कलेज फुटसल र ओपन गर्ल्स फुटसल हुनेछ। इन्टर प्लस टु स्तरमा विजेता टोलीले नगद ८० हजार रुपैयाँ र उपविजेताले नगद ४० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
खेलको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई तीन-तीन हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोजकले जनाएको छ। यस्तै ओपन गर्ल्स च्याम्पियन टोलीले १० हजार र उपविजेताले आठ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्।

खेलकुद मार्फत युवाको क्षमता अभिवृद्धि र महिला सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको आयोजक संस्थाका सञ्चालक कमल खडकाले बताए। शिक्षा र खेलकुद दुवै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि जरुरी भएको उनले बताए।
युवामा खेलप्रतिको रुचि बढाउन र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न यो आयोजना गरेको खेल संयोजक विकास गुरुङले उल्लेख गरे। खेलमार्फत अनुशासन, सामूहिक भावना र आत्मविश्वास विकास हुने विश्वास उनले व्यक्त गरे।
इच्छुक टोलीले माघ २० गतेभित्र नाम दर्ता गराउनुपर्ने आयोजकले जानकारी दिएको छ।





