पोखरा। पोखरा रंगशालामा आगामी माघ १७ देखि २४ गतेसम्म साफ यू–१९ महिला च्याम्पियनसिप हुने भएको छ।
पोखरामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा साफका महासचिव पुरुषोत्तम कट्टेलले नेपालसहित भारत, भुटान र बंगलादेशको सहभागिता रहने यस प्रतियोगिताका लागि सबै तयारी पूरा भइसकेको बताए। सहभागी टोलीहरू पोखरा आइपुगिसकेका छन्। विदेशी टोलीहरूका लागि लामाचौर, गोल्टे र बोसीमैदानमा प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको छ। मुख्य प्रशिक्षक यम प्रसाद गुरुङको नेतृत्वमा नेपाली यू–१९ टोली हाल बन्द प्रशिक्षणमा रहेको छ।

प्रतियोगिताको पहिलो खेल बंगलादेश र भुटानबीच हुनेछ भने दोस्रो खेल भारत र नेपालबीच हुनेछ। प्रतियोगिताका लागि पोखरा रङ्गशालाको फुटबल मैदान मर्मत गरिएको छ। खेलमैदानमा चेन्जिङ रूम, ट्रायल सिटदेखि लिएर सबै आवश्यक पूर्वाधार तयार गरिएको एन्फाले जनाएको छ।
प्रतियोगिताको अनुमानित खर्च २ करोड ४५ लाख १५ हजार २ सय ९० रुपैयाँ लाग्ने अनुमान गरिएको छ। खेल हेर्नका लागि साधारण प्रवेशपत्रको मूल्य दुई सय रुपैयाँ र भीआईपी प्रवेशको मूल्य पाँच सय रुपैयाँ तोकिएको छ।





