newa srijana

पोखरामा श्रृंखलाबद्ध चोरी गर्ने गिरोह पक्राउ, ४ विदेशी सहित ९ जना अनुसन्धानको दायरामा

पोखरामा श्रृंखलाबद्ध चोरी गर्ने गिरोह पक्राउ, ४ विदेशी सहित ९ जना अनुसन्धानको दायरामा

पोखरा

कास्की प्रहरीले पोखरा महानगरपालिकाका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा ४ विदेशी नागरिक सहित ९ जनालाई पक्राउ गरेको छ।

पोखराका विभिन्न क्षेत्रमा चोरीका घटना बढेपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले विशेष निगरानी र अनुसन्धान थालेको थियो । सोही क्रममा चोरीमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूले असार ४ गते पोखरा १७ छोरेपाटनस्थित शिवप्रसाद बरालको घरबाट आधा तोला सुन, नगद १ लाख ५० हजार रुपैयाँ, एक थान ल्यापटप र एक थान मोबाइल चोरी गरेका थिए ।

यस्तै, असार १४ गते पोखरा १८ मणिमार्ग स्थित हेमराज गिरीको घरबाट करिब २५ तोला सुनका गरगहना र ७० हजार रुपैयाँ नगद चोरी भएको थियो । असार १५ गते पोखरा १८ भकुण्डे स्थित गिरीधरी श्रेष्ठको घरबाट दुई थान मोबाइल र सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।

सिटीजन फनिच्रर

असार २३ गते पोखरा ८ ज्ञानकुञ्ज मार्ग स्थित मोहसेन खातामीको कोठाबाट एक थान मोबाइल र २५ हजार रुपैयाँ नगद चोरी भएको थियो भने सोही दिन पोखरा ६ लेकसाइड स्थित हिरामणि लामिछानेको घरबाट आइफोन सहित अन्य सामान चोरी भएको थियो ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका २३ वर्षीय राहुल निषाद, महाराष्ट्रका ४० वर्षीय सोमनाथ हनुमन्त जाधव, चीनको गुइझोउका ३० वर्षीय वेन जी, चीनको शान्दोङका ३७ वर्षीय वाङ लियानयिन, स्याङ्जा चापाकोट ३ का ४२ वर्षीय राजकुमार बि.क., कास्की अन्नपूर्ण ७ का ५० वर्षीय राजु केसी उर्फ खिमबहादुर क्षेत्री, अर्घाखाँची भूमिकास्थान ३ का २९ वर्षीय अशोक पोख्रेल, पोखरा १६ का ५१ वर्षीय केशव पाइजा मगर र बागलुङ नगरपालिका १२ का २७ वर्षीय अनिल बि.क. रहेका छन् ।

 

प्रहरीले उनीहरूको साथबाट ९ थान मोबाइल, एक थान स्मार्ट घडी, एक थान ल्यापटप, विभिन्न तौलका सुनका गरगहना, सुनका टुक्रा, सुनका ढिक्का तथा नगद २ लाख १ हजार २२० रुपैयाँ बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले पक्राउ परेका ९ जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए । उनका अनुसार घटनामा अन्य व्यक्तिको संलग्नता तथा थप चोरीका घटनाबारे समेत अनुसन्धान जारी छ ।

Pokhara learners