newa srijana

पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई चार सय किलो अर्गानिक मल सहयोग

हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा हरियाली अभियानमा सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित बनाउन हाम्रो इको नेक्स्ट टेक्नोलोजी प्रा.लि.ले चार सय किलो प्राङ्गारिक मल सहयोग गरेको छ।

जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजनामा रङ्गशाला परिसरमा सञ्चालन भइरहेको वृक्षारोपण अभियानअन्तर्गत कम्पनीले उक्त मल उपलब्ध गराएको हो। रङ्गशालालाई हरियाली र वातावरणमैत्री बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, खेलसम्बद्ध संघ–संस्थाका प्रतिनिधि, जनप्रतिनिधि तथा खेलप्रेमीहरूको सहभागिता रहँदै आएको छ।

हाम्रो इको नेक्स्ट टेक्नोलोजीका सञ्चालक राजेश गौतम (राजु)ले जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङसहितका पदाधिकारीलाई उक्त मल हस्तान्तरण गरेका थिए।

गौतमले पोखराको अन्तर्राष्ट्रियस्तरको रङ्गशालालाई हरियाली बनाउने अभियानमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए। उनले बिरुवालाई पनि उचित पोषण र हेरचाह आवश्यक पर्ने उल्लेख गर्दै माटोको संरक्षणका लागि प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने धारणा व्यक्त गरे।

सिटीजन फनिच्रर

उनका अनुसार उक्त मल गाईको मल, हड्डीको धुलो, पिना तथा निम, बकाइनोजस्ता वनस्पति मिसाएर तयार गरिएको हो। यसमा बिरुवाका लागि आवश्यक नाइट्रोजन, फस्फोरस लगायतका पोषक तत्व रहेको उनले जानकारी दिए।

जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले वृक्षारोपण अभियानमा प्राङ्गारिक मल सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने बताए।

यसैबीच, रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानमा ब्रिटिस क्याम्प काठमाडौंमा कार्यरत मेजर सूर्य गुरुङको परिवारले पनि सहभागिता जनाएको छ। गुरुङ परिवारले जापानिज कटुस, एभोकाडो र जामुन प्रजातिका बिरुवा रोपेको जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख डिबी नेपालीले जानकारी दिए।

Pokhara learners