newa srijana

वालिङमा ‘कृषि एम्बुलेन्स’ सेवा सुरु

घरबाटै कृषि उपज संकलन गरी बजारसम्म पुर्‍याइने, ढुवानी र बजारीकरण सहज हुने अपेक्षा

पोखरा । स्याङ्जाको वालिङ नगरपालिकाले कृषकको उत्पादन घरबाटै संकलन गरी बजारसम्म पुर्‍याउने उद्देश्यले ‘कृषि एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ।

वालिङ नगरपालिका–१ त्रियासीस्थित कृषि उपज बजार व्यवस्थापन सहकारी संस्थालाई कृषि एम्बुलेन्स हस्तान्तरणसँगै सेवा सञ्चालनमा आएको हो। वालिङ नगरपालिका, स्थानीय दियालो संस्था तथा वालिङ कृषि विकास परियोजना (हेफर इन्टरनेसनल नेपाल) को साझेदारीमा सेवा सुरु गरिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार ३२ लाख ९० हजार रुपैयाँ लागतमा खरिद गरिएको कृषि एम्बुलेन्समा नगरपालिकाको १८ लाख ९० हजार र परियोजनाको १४ लाख रुपैयाँ लगानी रहेको छ। सेवा सञ्चालनसँगै कृषिजन्य उत्पादनको संकलन, ढुवानी, भण्डारण र बजारीकरण थप व्यवस्थित हुने अपेक्षा गरिएको उनले बताए।

सिटीजन फनिच्रर

ज्ञवालीले कृषि उत्पादनलाई खेतदेखि बजारसम्म जोड्ने यो सेवा कृषकमैत्री कार्यक्रम भएको उल्लेख गर्दै अब कृषकले उत्पादन ढुवानी र बजारीकरणका लागि पहिलेजस्तो समस्या भोग्न नपर्ने बताए। सहकारीमार्फत हाल दैनिक करिब ५० क्विन्टल तरकारी संकलन हुँदै आएको र कृषि एम्बुलेन्स सञ्चालनपछि कृषकको घरबाटै तरकारी संकलन गरिने भएकाले ढुवानी लागत घट्नुका साथै उत्पादन ताजा अवस्थामै बजारसम्म पुर्‍याउन सहज हुने उनले बताए।

सहकारीका अध्यक्ष अर्जुनप्रकाश अर्यालले ढुवानी अभावका कारण कृषकले वर्षौंदेखि भोग्दै आएको समस्या समाधान हुने विश्वास व्यक्त गरे। उनका अनुसार अब कृषि एम्बुलेन्समार्फत पोखरा र बुटवलसम्म नियमित रूपमा तरकारी ढुवानी गर्न सकिनेछ।

सहकारीका प्रबन्धक युवराज रेग्मीले गत आर्थिक वर्ष नगर क्षेत्रबाट एक लाख ५८ हजार २६८ किलोग्राम तरकारी संकलन गरिएको जानकारी दिए। कृषि एम्बुलेन्सले एक पटकमा करिब १३० क्यारेट तरकारी ढुवानी गर्न सक्ने उनले बताए।

वालिङ नगरपालिकाले उत्पादित तरकारी तथा फलफूलको न्यूनतम समर्थन मूल्य निर्धारण गरी उत्पादनका आधारमा प्रतिकिलो पाँच रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाले तरकारी उत्पादक कृषकलाई सात लाख ९१ हजार ३४२ रुपैयाँ अनुदान वितरण गरेको जनाएको छ।

Pokhara learners