पोखरा । अग्निपथ योजनाअन्तर्गत नेपाली युवालाई भारतीय सेनामा भर्ती गर्ने प्रक्रिया पुनः सुरु गर्न माग गर्दै पोखरामा भूतपूर्व सैनिकहरूले प्रदर्शन गरेका छन्। भारतीय भूतपूर्व सैनिक संघ गोर्खा ब्रिगेड नेपाल, पोखराले भर्ती प्रक्रिया पुनः सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री बालेन्द्र शाहलाई जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत ज्ञापनपत्र बुझाएको हो।
भारतले सन् २०२२ मा अग्निपथ योजना लागू गरेपछि नेपाली युवाको भारतीय सेनामा भर्ती प्रक्रिया रोकिएको थियो। लामो समयदेखि नेपाली युवाले भारतीय सेनामा सेवा गर्दै आएको उल्लेख गर्दै संघले भर्ती रोकिँदा रोजगारीको अवसरबाट नेपाली युवा वञ्चित भएको जनाएको छ।
संघले सन् २०२२ जुनदेखि रोकिएको भर्ती प्रक्रिया पुनः सुरु गर्न नेपाल सरकारले भारतसँग कूटनीतिक पहल गर्नुपर्ने माग गरेको छ। नेपाली युवाका लागि भारतीय सेनामा भर्ती रोजगारीको महत्वपूर्ण माध्यम रहँदै आएको भन्दै संघले यस विषयलाई प्राथमिकताका साथ अघि बढाउन सरकारसँग आग्रह गरेको हो।
अग्निपथ योजनाअन्तर्गत १७.५ देखि २१ वर्ष उमेर समूहका युवालाई ‘अग्निवीर’का रूपमा भर्ती गर्ने व्यवस्था छ। चार वर्षको सेवापछि कार्यसम्पादनका आधारमा २५ प्रतिशतलाई स्थायी सैनिकका रूपमा निरन्तरता दिने र बाँकीलाई विभिन्न सुविधा तथा एकमुष्ट रकमसहित सेवाबाट बिदा गर्ने प्रावधान रहेको संघले जनाएको छ।

संघका अनुसार चार वर्षको अवधिमा अग्निवीरले विभिन्न सुविधा तथा आम्दानीबाट करिब ४५ देखि ५० लाख रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन्। यसले नेपाली युवाको रोजगारी र आर्थिक अवस्थामा समेत सकारात्मक योगदान पुर्याउने संघको दाबी छ।
भर्ती प्रक्रिया पुनः सञ्चालनको मागसँगै संघले ‘सैनिक’ शब्द प्रयोग भएका कारण नवीकरण रोकिएका भूतपूर्व सैनिकसम्बन्धी संघ–संस्थाको नवीकरण प्रक्रिया अघि बढाउन पनि सरकारसँग आग्रह गरेको छ।
ज्ञापनपत्र बुझाउनुअघि संघले पोखरामा र्याली निकालेको थियो। र्यालीमा सहभागीले ‘अग्निपथअन्तर्गत नेपाली युवालाई भारतीय सेनामा भर्ती गर’, ‘गृह मन्त्रालयको पत्र बदर गर’ र ‘भूपू सैनिकका आवाज सम्बोधन गर’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।
संघले नेपाली युवाको रोजगारीसँग जोडिएको विषय भएकाले भर्ती प्रक्रिया पुनः सञ्चालनका लागि नेपाल सरकारले भारतसँग आवश्यक कूटनीतिक संवाद अघि बढाउनुपर्नेमा जोड दिएको छ।




