पोखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा एकदिवसीय घरबास व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
कास्कीको माछापुच्छ्रे–६ स्थित धिताल सामुदायिक होमस्टेमा आइतबार सम्पन्न तालिममा ४५ जनाको सहभागिता रहेको भिटोफ गण्डकीका अध्यक्ष रमेश अर्यालले जानकारी दिए ।गाउँ पर्यटनको प्रभावकारिता अभिवृद्धिका लागि घरबास व्यवस्थापन आवश्यक भएकाले तालिम आयोजना गरिएको उनले बताए । ग्रामीण क्षेत्रमा पर्यटनको विकास गर्न र स्थानीय बासिन्दालाई दक्ष बनाउन विभिन्न किसिमका तालिम सञ्चालन गरिने उनले बताए ।
तालिममा टीकाराम सापकोटा, रवीन्द्रराज पौडेल, दीपेन्द्र पहारी र सीता चौधरीलगायतले प्रशिक्षण दिएका थिए ।
यस्ता तालिमले गाउँ पर्यटनको विकासमा विशिष्ट योगदान गर्ने नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले बताए । तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गर्दै उनले अतिथि देवो भव भन्ने नेपाली संस्कार रहेको बताए । प्राकृतिक सौन्दर्य, ग्रामीण जीवनशैली, संस्कृति तथा आतिथ्यतामार्फत पाहुनालाई आकर्षित गर्न सकिने उनले बताए । पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाइने उनको भनाइ थियो।

समग्र गाउँपालिकामा गाउँ पर्यटनको धेरै सम्भावना रहेको माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले बताइन् । ग्रामीण पर्यटन आर्थिक समृद्धिको महत्वपूर्ण आधार रहेको उल्लेख गर्दै उनले प्राकृतिक, सांस्कृतिक तथा ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोडेर रोजगारी सिर्जना गर्न सकिने बताइन् । पालिकाले पर्यटन प्रवद्र्धनका गतिविधिलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
होमस्टे सञ्चालन भएका गाउँमा कृषि तथा पशुपालनमा राज्यको ध्यान पुग्नुपर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा संस्थापक अध्यक्ष तारानाथ पहारीले बताए ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका–६ का वडाध्यक्ष टेकनाथ गौतम, नेपाल पर्यटन बोर्ड गण्डकीका कार्यक्रम प्रमुख युवराज गुरुङ, निवर्तमान अध्यक्ष शोभा सापकोटा, उपाध्यक्ष विश्वराज अधिकारी, सचिव भीमराज पौडेललगायतले आफ्ना धारणा राखेका थिए ।
होमस्टे सञ्चालन तथा आतिथ्य सत्कारसम्बन्धी नयाँ कुरा सिक्ने अवसर मिलेको तालिममा सहभागीहरूले बताए । उनीहरूले आगामी दिनमा अन्य तालिमसमेत सञ्चालन गर्न आग्रह गरेका थिए ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) ले ग्रामीण क्षेत्रमा पर्यटनको विकास गर्न र स्थानीय बासिन्दालाई दक्ष बनाउन विभिन्न किसिमका तालिम सञ्चालन गर्दै आएको छ ।




