पोखरा । पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण सार्वजनिक भएको छ । दाबी–विरोध तथा आवश्यक छानबिनपछि भूमिहीन र अव्यवस्थित बसोबासीको संख्या ५६७ कायम भएको हो ।
प्रारम्भिक विवरणमा भूमिहीन दलित २००, भूमिहीन सुकुम्बासी २४८ र अव्यवस्थित बसोबासी ११६ जना रहेकोमा दाबी–विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन तथा परीक्षणपछि संख्या घटेर ५६७ कायम भएको पोखरा महानगरपालिकाले जनाएको छ ।

अन्तिम विवरणअनुसार भूमिहीन दलित १४४ र भूमिहीन सुकुम्बासी १८१ गरी भूमिहीनको संख्या ३२५ तथा अव्यवस्थित बसोबासीको संख्या २४२ कायम भएको छ ।
वडा तहको सहजीकरण समितिले दाबी–विरोध तथा छानबिनपछिको विवरण वडा समितिसमक्ष सिफारिस गरेको छ । वडा समितिको बैठकले सहजीकरण समितिको प्रतिवेदनलाई नियमानुसार ग्रहण गरी आवश्यक सिफारिससहित महानगरपालिकामा पठाउने निर्णय गरेको छ ।
अब महानगरपालिकाको कार्यपालिकाले उक्त प्रतिवेदनमाथि आवश्यक छलफल गरी यसै साता जिल्ला समितिमा सिफारिस गर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिएका छन् । जिल्ला समितिमा सिफारिस प्रक्रिया अघि बढेसँगै अर्को सातादेखि बसपार्क क्षेत्रबाट सुकुम्बासी बस्ती स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइने प्रमुख आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।




