पोखरा । गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा पोखरा कलेज अफ म्यानेज्मेण्टको प्रमुख प्रायोजनमा पोखरामा सम्पन्न प्रथम पिसिएम कप खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१८ ब्वाइज सिंगल्सको उपाधि शाश्वत बज्राचार्यले जितेका छन् ।
सोमबार पोखरा रंगशालाभित्रको टेनिस कोर्टमा भएको फाइनलमा शाश्वतले सन्दीप विकलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।
यु–१४ ब्वाइज सिंगल्सको उपाधि आर्यषराज पौडेलले जितेका छन् । उनले अभिषेक बयलकोटीलाई ६–१, ७–५ को सेटमा पराजित गरेका थिए । यु–१६ ब्वाइज सिंगल्समा सुरेन्द्र विक च्याम्पियन बने । फाइनलमा उनले आर्यषराज पौडेललाई ६–३, ६–३ को सेटमा पराजित गरेका थिए ।
गल्र्सतर्फ यु–१२ र यु–१० दुवै विधाको उपाधि निम्ती कुँवरले जितेकी छन् । यु–८ गल्र्स सिंगल्समा वाणी राजभण्डारी प्रथम र निवेदी सुनार द्वितीय भए ।

यु–१२ ब्वाइज सिंगल्समा सहंश बस्नेतले इभान भट्टराईलाई पराजित गर्दै उपाधि जिते । यु–९ ब्वाइज सिंगल्समा सवज्ञ जंग खत्री प्रथम र सोनम टी घले द्वितीय भए ।
विजयी खेलाडीलाई समापन समारोहका प्रमुख अतिथि पोखरा कलेज अफ म्यानेज्मेण्टका प्राचार्य लिना नेगी श्रेष्ठ, नेपाल टेनिस संघका पूर्वअध्यक्ष मनोज राणा तथा प्रतियोगिता संयोजक लोक गुरुङलगायतले गिफ्ट ह्याम्परसहित मेडल र प्रमाणपत्र प्रदान गरे ।
पोखरा कलेज अफ म्यानेज्मेण्टका प्राचार्य श्रेष्ठले कलेजले विगत २५ वर्षदेखि व्यवस्थापन शिक्षासँगै युवालक्षित विभिन्न कार्यक्रम गर्दै आएको बताइन् । कलेजले खेलकुदलाई पनि महत्व दिँदै आएको उनको भनाइ थियो ।
आयोजक समितिका अध्यक्षसमेत रहेका कलेजका अध्यक्ष विनोद कायस्थले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी वर्षमा पनि प्रतियोगितालाई निरन्तरता दिने बताए ।
कार्यक्रम सञ्चालन आयोजक संघका महासचिव नवीन श्रेष्ठले गरेका थिए ।




