पोखरा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा कालो चस्मा लगाउनुपर्ने कारण खुलाउँदै चिकित्सकको रिपोर्टसहित संसद् सचिवालयलाई पत्र पठाएका छन् । आँखाको समस्याका कारण उज्यालोमा हेर्न कठिनाइ हुने भएकाले कालो चस्मा लगाउनुपरेको प्रधानमन्त्री शाहले पत्रमार्फत जानकारी गराएका हुन् ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री शाहले चिकित्सकको रिपोर्टसहितको पत्र सचिवालयमा पठाएका छन् । केही दिनअघि कार्यव्यवस्था समितिको बैठकमा सभामुख डिपी अर्यालले सांसदहरूलाई संसद् बैठकमा आउँदा कालो चस्मा नलगाउन निर्देशन दिएका थिए । आँखाको समस्याका कारण लगाउनैपर्ने अवस्था भए चिकित्सकको रिपोर्ट पेश गर्नुपर्ने उनले बताएका थिए ।
सोहीअनुसार प्रधानमन्त्री शाहले सचिवालयलाई पत्र पठाएका हुन् । प्रधानमन्त्री शाह भोलि बस्ने संसद् बैठकमा सहभागी हुने कार्यक्रम छ । उनले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनेछन् । बैठकमा उनी कालो चस्मा लगाएरै सहभागी हुने भएका छन् ।

आफूलाई आँखाको सुख्खापनका कारण उज्यालोमा हेर्न समस्या हुने भएकाले कालो चस्मा लगाउनुपरेको प्रधानमन्त्री शाहले पत्रमा उल्लेख गरेका छन् । उनले लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले दिएको मेडिकल रिपोर्टसमेत पेश गरेका छन् ।
मेडिकल रिपोर्टमा प्रधानमन्त्री शाहलाई उज्यालो प्रकाशमा हेर्न कठिनाइ हुने समस्या देखिएको उल्लेख छ । परीक्षणका क्रममा उनलाई ‘ड्राइ आई डिजिज’ अर्थात् आँखा सुख्खा हुने समस्या देखिएको चिकित्सक ढकालले रिपोर्टमा उल्लेख गरेका छन् ।
उक्त समस्याका लागि आवश्यकताअनुसार प्रयोग गर्ने गरी कार्बोक्सिमिथाइलसेलुलोज ०.५ प्रतिशतको आँखामा हाल्ने ड्रप प्रयोग गर्न सल्लाह दिइएको रिपोर्टमा उल्लेख छ । साथै, उज्यालो प्रकाश भएको वातावरणमा रहँदा समस्या कम गर्न आँखाको सुरक्षाका लागि सनग्लास अर्थात् कालो चस्मा प्रयोग गर्न सुझाव दिइएको छ ।




