पोखरा । पोखरा उद्योग वाणिज्य संघले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा बिहीबार बसेको आकस्मिक बैठकले उक्त रकम छुट्याउने निर्णय गरेको हो। बैठकले संघका पदाधिकारी तथा कार्यसमिति सदस्यलाई थप सहयोग गर्न आह्वान गरेको छ। संकलित रकम कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत कोषमा पठाइने संघले जनाएको छ।
संघकी महासचिव शोभा गौतमका अनुसार वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यबाट प्राप्त सहयोगसमेत एकमुष्ट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइनेछ।

संघले बुधबार भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गर्ने जनाएको थियो। पुनःस्थापनाका अभियानमा समेत सहभागी हुने संघले प्रतिबद्धता जनाएको छ।
संघका अध्यक्ष गोकर्ण कार्कीले जारी गरेको अपिलमा उद्योगी, व्यवसायी तथा आम नागरिकलाई उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सहयोग गर्न आग्रह गरिएको छ।




