पोखरा । ग्रेट वाल मोटर (जिडब्ल्युएम) नेपालको आधिकारिक विक्रेता रेज मोटर्स प्रालिले पोखराको उत्तम चोकमा डिलरसिप सञ्चालनमा ल्याएको छ। डिलरसिप सञ्चालनसँगै कम्पनीले बिहीबार जिडब्ल्युएमका दुई मोडल ‘ओरा ५’ र ‘हाभल जोलियन म्याक्स इभी’ सार्वजनिक गरेको छ।
५८.३ किलोवाट आवर ब्याट्री रहेको ‘ओरा ५’ले एकपटकको पूर्ण चार्जमा ४ सय ३५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले बताएको छ। यसको ग्राउन्ड क्लियरेन्स २०० मिलिमिटर छ।
१५० किलोवाट क्षमताको मोटर र ५८.३ किलोवाट आवर ब्याट्री रहेको ‘हाभल जोलियन म्याक्स इभी’ले ४ सय किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीले बताएको छ। यसमा प्यानोरामिक सनरुफ, १४.६ इन्चको इन्फोटेनमेन्ट सिस्टम, एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) र भेहिकल टु लोड (भीटुएल) प्रविधि उपलब्ध छन्।

कम्पनीका अनुसार ‘हाभल जोलियन म्याक्स इभी’को मूल्य ५९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। ‘ओरा ५ सेमी’को मूल्य ४८ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ र ‘ओरा ५’को ५३ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ।

उत्तम चोकस्थित शोरुमबाट बिक्री, मर्मत तथा स्पेयर पार्ट्ससहितको थ्रीएस सेवा उपलब्ध हुने रेज मोटर्सका अध्यक्ष अशोक चालिसेले बताए। ग्राहकलाई बिक्रीपछिको सेवा पनि भरपर्दो रूपमा उपलब्ध गराउने उनले बताए।
कम्पनीका सेल्स एन्ड अपरेसन महाप्रबन्धक अधिरकुमार श्रेष्ठले पोखराको बजार जिडब्ल्युएमका लागि महत्वपूर्ण रहेको बताए। गण्डकी प्रदेशमा जिडब्ल्युएमको बजार विस्तारका लागि पोखरामा डिलरसिप सञ्चालन गरिएको उनले बताए।
पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले पोखरामा नयाँ गाडीका शोरुम सञ्चालन हुनु र उपभोक्ताको आकर्षण बढ्नु सकारात्मक भएको बताइन्। अर्थतन्त्र विस्तारै चलायमान हुँदै गएको अवस्थामा व्यवसाय विस्तार हुनु राम्रो संकेत भएको उनले बताइन्।
कार्यक्रममा अटोवेजका सञ्चालक नारायणप्रसाद पौडेल, चालिसे ग्रुपका संस्थापक शिवप्रसाद चालिसे, पश्चिमाञ्चल अटोमोबाइल एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइरालालगायत व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र सञ्चारकर्मी सहभागी थिए। सोही अवसरमा अनिलमणि भण्डारीलाई ‘ओरा ५’ गाडीको चाबी हस्तान्तरण गरिएको थियो।
नयाँ शोरुमबाट दुवै मोडलका गाडीको टेस्ट ड्राइभ तथा बुकिङ खुला गरिएको कम्पनीले बताएको छ।




