पोखरा । दक्षिण कोरियाली कलाकार तथा लेखक कु ह्युन किमले रसुवाको उत्तरगया गाउँपालिकाका भोटेकोशी बाढीपीडितका लागि ५ हजार किलो चामल सहयोग गरेका छन्।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि किमले कोरियास्थित बुद्धिस्ट एकेडेमी, बुद्धिस्ट रिभ्यु र छेओङयाङ ट्राभल स्कुलका २६ जना सदस्यसँग मिलेर ५ लाख रुपैयाँ जुटाएका हुन्। परिचय एड्भरटाइजिङको संयोजन र पोखरा महानगरपालिकाको सहजीकरणमा २५ किलोका २ सय बोरा चामल उत्तरगयाका बाढीपीडितलाई उपलब्ध गराइनेछ।
७५ वर्षअघि कोरियाली युद्धका क्रममा नेपालले कोरियालाई गरेको चामल सहयोगको स्मरण गर्दै अहिले आफूहरूले नेपालका बाढीपीडितलाई सहयोग गरेको किमले बताए। साथीहरूले कफी खाने खर्च बचाएर रकम जुटाएको उनले बताए।

८० वर्षीय किम विगत ११ वर्षदेखि भिजिट भिसामा नेपाल आउजाउ गर्दै आएका छन्। नेपाललाई दोस्रो घर मान्दै आएका उनले बाढीको खबर पाएपछि आफू अघिल्लो वर्ष रसुवा हुँदै कैलाश मानसरोवर गएको समय सम्झिएर सहयोग जुटाउन सक्रिय भएको बताए।
८० वर्षको उमेरमा पनि कोरियाबाट नेपाल आएर बाढीपीडितको सेवामा समय खर्चिएकोमा कलाकार किम र उनको टोलीप्रति पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले धन्यवाद दिए। राहत अपुग भएको उत्तरगया गाउँपालिकाका पीडितसमक्ष सहयोग तुरुन्तै पठाइने उनले बताए।
बाढीपीडितलाई कठिन समयमा सहयोग गर्न पाएकोमा किमले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यप्रति आभार व्यक्त गरे। परिचय एड्भरटाइजिङका प्रबन्ध निर्देशक सोभित बस्यालले सहयोगी भावनाका व्यक्तित्वबाट प्राप्त राहत लक्षित वर्गसम्म पुर्याउन समन्वय गर्नु संस्थाको सामाजिक दायित्व भएको बताए।
सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धका क्रममा खाद्यान्न संकटमा परेको कोरियालाई नेपालले चामल पठाएको घटना किमले बाल्यकालमै सुनेका थिए। त्यही सहयोगलाई सम्झिँदै अहिले नेपालका बाढीपीडितलाई गरिएको सहयोगलाई उनले पुरानो मानवीय सम्बन्धप्रतिको कृतज्ञताका रूपमा लिएका छन्।




