पोखरा । गन्धर्व समुदायको मौलिक कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा प्रज्ञा प्रतिष्ठानले ‘गन्धर्व गुञ्जन’ कार्यक्रम आयोजना गर्ने भएको छ। असोज १० गते शनिबार पोखरा उद्योग वाणिज्य संघको हलमा कार्यक्रम हुनेछ।
कार्यक्रममा पोखरा तथा आसपासका विभिन्न स्थानका ८३ जना गन्धर्व कलाकार र तीन जना अतिथि कलाकारसहित ८६ जनाको सहभागिता रहने पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षाले बताइन्। गन्धर्व कलाकारले एकल, युगल तथा सामूहिक प्रस्तुति दिने उनले बताइन्।
वरिष्ठ कलाकार पूर्ण नेपाली, वरिष्ठ कलाकार कृष्णबहादुर गन्धर्व र युवा कलाकार कुशल बेलवासेलगायतले पनि प्रस्तुति दिनेछन्। पोखराको बाटुलेचौर, हेम्जा तथा लेखनाथ–बढहरे क्षेत्रका गन्धर्व कलाकारका प्रस्तुति कार्यक्रममा समेटिनेछन्।
मौलिक तरबार नृत्य, तल्लो गगनगौडाका गन्धर्व कलाकारका झ्याउरे तथा पुराना प्रस्तुतिसँगै सारंगी, मादल र बाँसुरीका धुनसमेत कार्यक्रममा प्रस्तुत गरिनेछ। युवालाई लक्षित सारंगी वादन तथा गायन प्रस्तुति पनि रहनेछ।
गन्धर्व समुदायका मौलिक पुर्ख्यौली गीत तथा घटनाका गीतसँगै पछिल्लो भोटेकोसी बाढीपहिरोसँग सम्बन्धित गीतसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ। कर्खा, निर्गुण र रत्यौलीलगायतका गीत पनि कार्यक्रममा प्रस्तुत हुनेछन्।

गन्धर्व समुदायका मौलिक कला, संगीत र प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्दै संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव जीवन दाहालले बताए। गन्धर्व कलाकारका प्रतिभा र सारंगीका धुनसँग पोखराको पहिचान पनि जोडिएको उनले बताए।
पोखरा आसपासका गन्धर्व कलाकारका हिजो, आज र भोलिका सिर्जना तथा जीवनका कथालाई बाहिर ल्याएर संरक्षण गर्दै देश तथा प्रदेशस्तरमा पुर्याउने प्रयास गरिएको उनले बताए।
कुलपति प्रतीक्षासहितको नयाँ नेतृत्व आएपछि प्रतिष्ठानले आयोजना गर्न लागेको यो पहिलो कार्यक्रम हो। कला, संगीत र साहित्यको उद्गमस्थलका रूपमा पोखराको पहिचानलाई थप उजागर गर्ने उद्देश्यले पहिलो कार्यक्रम सारंगी र गन्धर्व संस्कृतिबाट सुरु गरिएको प्रतिष्ठानले जनाएको छ।
कार्यक्रम दिउँसो १ बजे सुरु भई करिब तीन घण्टासम्म सञ्चालन हुनेछ। प्रवेश निःशुल्क रहने दाहालले बताए। सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठको सहजीकरणमा गन्धर्व समुदायका व्यक्तिको सहभागितामा प्यानल डिस्कसनसमेत गरिने उनले बताए।
पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षमा प्रतिष्ठानका लागि करिब १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यसमध्ये १ करोड ३० लाख रुपैयाँ कार्यक्रम सञ्चालनमा र २० लाख रुपैयाँ कार्यालय सञ्चालनलगायतका काममा खर्च गर्ने योजना रहेको दाहालले बताए।
प्रतिष्ठानले आगामी दिनमा राष्ट्रव्यापी कविता सम्मेलनलगायत विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ।




