पोखरा । गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसल प्रतियोगिता–२०८३ को उपाधि नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जितेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा शनिबार भएको फाइनलमा नेपाल पत्रकार महासंघ बागलुङलाई २–० गोलले हराउँदै मञ्चले उपाधि जितेको हो।
मञ्चका तर्फबाट प्रवेश पोखरेल र अर्जुन गाहा ‘सुशान्त’ले एक–एक गोल गरे। उपाधिसँगै मञ्चले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बागलुङले ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा नेपाल पत्रकार महासंघ बागलुङका रोशन जिसी सर्वोत्कृष्ट खेलाडी बने । खेलकुद पत्रकार मञ्च गण्डकीका धनबहादुर गुरुङ ‘सुमन’ उत्कृष्ट प्रशिक्षक बने। दुवैले ट्रफीसहित गो बन्जीमार्फत फ्लाई कुपन प्राप्त गरे।
कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपिन्यूजले आयोजना गरेको प्रतियोगिता शुक्रबारदेखि सुरु भएको थियो। प्रतियोगितामा आयोजकसहित नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, नेपाल पत्रकार महासंघ बागलुङ र लेखनाथ पत्रकार मञ्च गरी चार टिम सहभागी थिए।


लिगकम नकआउट अवधारणामा खेलाइएको प्रतियोगितामा एनएसजेएफ गण्डकी र नेपाल पत्रकार महासंघ बागलुङ समान ७ अंकसहित फाइनलमा पुगेका थिए। लिग चरणमा एनएसजेएफ गण्डकीले आयोजक नयाँलिपि र लेखनाथ पत्रकार मञ्चलाई पराजित गरेको थियो भने बागलुङसँग बराबरी खेलेको थियो। बागलुङले पनि लेखनाथ पत्रकार मञ्च र आयोजकलाई पराजित गर्दै एनएसजेएफसँग बराबरी खेलेको थियो।
समापन कार्यक्रममा गण्डकी विश्वविद्यालयका उपकुलपति डा. कृष्णराज अधिकारीले खेलसँगै शिक्षा आवश्यक रहेको बताए। खेलकुद व्यवस्थापनको अध्ययनलाई विश्वविद्यालयले प्राथमिकता दिएको बताउँदै उनले संशोधित पाठ्यक्रममा फुटसललाई समेत समावेश गरिएको बताए।

आयोजक मिडियाका अध्यक्ष सुरज श्रेष्ठले प्रतियोगिताबाट बचत भएको रकम भोटेकोशी बाढीबाट प्रभावितको राहतमा खर्च गरिने बताए।




