newa srijana

सहकारी पत्रकारिता पुरस्कारबाट आदर्श समाज दैनिकका सम्पादक विजय नेपाल सम्मानित

पाल्पाली बहुउद्देश्यीय सहकारीको आठौं साधारणसभा तथा तेस्रो अधिवेशनमा सम्मान

पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यस वर्षको सहकारी पत्रकारिता पुरस्कार पत्रकार विजय नेपाललाई प्रदान गरेको छ । सहकारीको शनिबार सम्पन्न आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा नेपाललाई नगद सहित दोसल्ला, टीका र सम्मानपत्र प्रदान गरिएको हो ।

पाल्पाली समाज पोखराको पहलमा २०७६ असार १३ गते स्थापना भएको सहकारीले हरेक चार वर्षमा सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सहकारीका गतिविधि तथा सामाजिक कामलाई सञ्चारमाध्यममार्फत प्रवर्द्धन गर्न योगदान पुर्‍याएका पत्रकारलाई पुरस्कार प्रदान गर्ने गरिएको हो ।

सहकारीका अध्यक्ष चिरञ्जीवी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डा. हुमप्रसाद न्यौपाने, पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुली, सहकारीका पूर्वअध्यक्ष कुलप्रसाद घिमिरे, पूर्वसल्लाहकार जनपुकार मुनकमी र यसअघि सम्मानित पत्रकार श्यामनाथ कुँवरलगायतले नेपाललाई सम्मान गरेका थिए ।

सिटीजन फनिच्रर

नेपाल नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका कार्यसमिति सदस्य हुन् । उनी हाल आदर्श समाज दैनिक र राजधानी दैनिकमा आबद्ध छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका–७, मैनादी स्थायी घर भएका नेपाल लामो समयदेखि पाल्पाली समाज पोखरा र पाल्पाली बहुउद्देश्यीय सहकारीको प्रेस सल्लाहकारका रूपमा समेत सक्रिय छन् ।

संस्थाका गतिविधि, कार्यक्रम तथा सामाजिक अभियानलाई सञ्चारमाध्यममार्फत सार्वजनिक गर्न नेपालले पुर्‍याएको योगदानको कदरस्वरूप पुरस्कार प्रदान गरिएको सहकारीले जनाएको छ । यसअघि सहकारी पत्रकारिता पुरस्कार पहिलोपटक पत्रकार श्यामनाथ कुँवरलाई प्रदान गरिएको थियो ।

यसै अवसरमा सहकारीमा उत्कृष्ट बचत कारोबार गर्ने शेयर सदस्य सरस्वती श्रेष्ठ र उत्कृष्ट आर्थिक कारोबार गर्ने लोकबहादुर रानालाई पनि सम्मान गरिएको थियो । शेयर सदस्यका छोराछोरीमध्ये एसईईमा ४ जीपीए ल्याउने विल्सन न्यौपाने सहित शिचु श्रेष्ठ, सात्विक विक्रम शाह, दीक्षित गौतम र मिलन घर्तीमगरलाई पनि सम्मान गरिएको नवनिर्वाचित अध्यक्ष रेशमराज थापाले जानकारी दिए । सहकारीमा हाल ५ सय ३४ शेयर सदस्य रहेका छन् ।

 

Rabin photo