पोखरा । नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिका तत्कालीन सचिव गणेशबहादुर थापाले १५औँ महाधिवेशनअन्तर्गत महानगर सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। असोज ७ गते हुने गाउँ–नगरपालिका अधिवेशनलाई लक्षित गर्दै उनले ३३ वटै वडाका क्षेत्रीय प्रतिनिधिसँग समर्थन मागिरहेका छन्।
थापा १४औँ महाधिवेशनमा पोखरा महानगर कार्यसमितिको सचिव निर्वाचित भएका थिए।
महानगरको संगठनलाई व्यवस्थित र चलायमान बनाउने, वडा तहदेखि महानगरसम्म संगठनलाई बलियो बनाउने तथा कार्यकर्ता र नेतृत्वबीचको सम्बन्ध सुदृढ गर्ने विषयलाई उनले प्राथमिकतामा राखेका छन्।

कार्यकर्ताका अपेक्षालाई नेतृत्वसम्म पुर्याउने र पार्टीका गतिविधिलाई जनतासँग जोड्ने गरी संगठन सञ्चालन गर्ने आफ्नो योजना रहेको थापाले बताएका छन्। सबै वडा र समुदायलाई समेटेर पार्टीभित्र एकता, सहकार्य र समन्वय बढाउँदै संगठनलाई थप प्रभावकारी बनाउने उनले बताएका छन्।
महानगरका ३३ वटै वडाका क्षेत्रीय प्रतिनिधिलाई आफूलाई समर्थन गर्न आग्रह गर्दै उनले संगठन सुदृढीकरण र महानगर कार्यसमितिलाई थप सक्रिय बनाउन उम्मेदवारी दिने तयारी गरेको बताएका छन्।
पोखरा महानगर सभापतिका लागि अन्य आकांक्षीहरू पनि तयारीमा रहेको कांग्रेस नेताहरूले बताएका छन्।




