पोखरा । नेपालको पर्यटन प्रवर्द्धन गर्न सात देशका ८ ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आएका छन् । नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा आएका उनीहरू पोखरा, चितवन र बर्दिया घुमेर भिडियो बनाउनेछन् ।
फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, बंगलादेश र श्रीलंकाका ती क्रिएटरले गन्तव्यका आकर्षण, स्थानीय जीवनशैली, संस्कृति, प्रकृति र पर्यटन गतिविधिबारे सामग्री तयार पार्ने र तयार भिडियो टिकटकसहित सामाजिक सञ्जालमा राखिने बोर्डका सदस्य सन्तोष पोखरेलले बताए ।
बोर्ड र टिकटकबीच सन् २०२५ अगस्ट १९ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही सहकार्यअन्तर्गत सुरु गरिएको ‘लाइफटाइम एक्सपिरियन्स’ अभियानले हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई टिकटकका छोटा भिडियोमार्फत विश्वसामु पुर्याउने लक्ष्य राखेको छ।

यसले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सघाउने अपेक्षा रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए ।
पोखरामा बंगलादेशका अनिवार्न कासेर, श्रीलंकाका कसुन सम्पथ देगोडा मागागे, ट्युनिसियाका बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी तथा संयुक्त अरब इमिरेट्सका मोहम्मद नाबिलले सामग्री बनाउनेछन् ।
चितवनमा फ्रान्सका जेरेमी ब्युदेटले वन्यजन्तु, निकुञ्ज, थारू संस्कृति र प्रकृतिमा आधारित पर्यटन अनुभव समेट्नेछन् । बर्दियामा पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्यु लिले प्राकृतिक वातावरण, वन्यजन्तु र समुदायमा आधारित पर्यटनका सम्भावना देखाउनेछन् ।




