पोखरा । “युवा एकता र विकासका लागि खेलकुद” भन्ने मूल नाराका साथ हेमजा युनाइटेडको आयोजनामा जेठ १० गतेदेखि सञ्चालित अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको क्वाटर फाइनल चरणअन्तर्गत मङ्गलवार दुई खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा वडा नं. ५ ले आयोजक वडा नं. २५ रातोलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ। वडा नं. ५ को जितमा जर्सी नं. १२ का पङ्कज घिमिरेले ह्याट्रिक गरे भने जर्सी नं. ४ का अरुण गुरुङले २ गोल, जर्सी नं. १० का अनुप केसी र जर्सी नं. १३ का प्रकाश पराजुलीले १–१ गोल गरे। उक्त खेलका म्यान अफ द म्याच पङ्कज घिमिरे घोषित भए।
दोस्रो खेलमा वडा नं. १ ले वडा नं. ६ लाई २–० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ। वडा नं. १ को जितमा जर्सी नं. ९ का बासु जीसी र मिलन गुरुङले १–१ गोल गरे। यो खेलको म्यान अफ द म्याच वडा नं. १ का जर्सी नं. ७ का चन्द्र तामाङ घोषित भए।
बुधवार बिहान १० बजे हुने अन्तिम क्वाटर फाइनल खेलमा वडा नं. १३ र वडा नं. १५ भिड्नेछन्। यो खेलको विजेताले सेमिफाइनलमा वडा नं. ५ सँग प्रतिस्पर्धा गर्नेछ। यस्तै, जेठ १५ गते बिहान ८ बजे वडा नं. २५ निलो र वडा नं. १ बीच दोस्रो सेमिफाइनल खेल हुने खेल संयोजक इन्द्रबहादुर कुँवरले जानकारी दिए।

१३ टिमको सहभागिता रहेको यस प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ११ हजार १११ रुपैयाँ, दोस्रो हुनेले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, उत्कृष्ट गोलकर्ता, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डलाई प्रत्येक विधामा २ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँसहित ट्रफी दिइनेछ। क्वाटर फाइनलबाट म्यान अफ द म्याचलाई ट्रफी प्रदान गरिएको आयोजक समितिका अध्यक्ष कृष्णमान श्रेष्ठले बताए।
जेठ १७ गतेसम्म चल्ने यो प्रतियोगितामा ३५ वर्षमाथिका खेलाडीहरू सहभागी छन्। पोखरा महानगरपालिका र वडा नं. २५ को संरक्षणमा आयोजित यस प्रतियोगितालाई गण्डकी प्रदेश फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ र जिल्ला फुटबल समितिले विशेष सहयोग गरेका छन्।
